पर्यटन प्रवद्र्धनका लागि मिसन कोरला–२०१६
पोखरा, ८ जेठ । नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ ।
‘मिसन कोरला–२०१६’ भन्ने नाराका साथ गरिन लागेको अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जेठ १३ गते सम्पन्न हुने पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाका अनुसार मिसन कोरला–२०१६ मा पर्यटन सम्बद्ध उद्योग व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता हुनेछ ।
पोखरासहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।
पोखरा आउने पर्यटक यहाँबाट उच्च हिमाली शृृङ्खलाको अवलोकन गर्ने उद्देश्यका साथ ऐतिहासिक स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उहाँको भनाइ छ ।
सरकारले समेत २०७३ साललाई घुमफिर वर्षका रुपमा लिएको उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले परिषद्ले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
केही समयअघि व्यवस्थापिका संसदको विकास समितिले कोरला नाकाको स्थलगत अवलोकन गरी सरकारलाई उक्त नाका यथासक्य चाँडो सुचारु गर्ने निर्देशनसहित प्रतिवेदन बुझाएको थियो । रासस