जुनारखेतीबाट जीवनस्तरमा सुधार
राजाराम कार्की / सिन्धुली, ४ साउन । बनेपा–सिन्धुली बर्दिबास (बिपी) राजमार्ग बनेपछि आसपासमा बसोबास गर्ने नागरिकको जीवनस्तर जुनार र तरकारीखेतीले सुधार गरेपछि भौतिक विकासको मेरुदण्ड राजमार्ग भएको कुरा प्रमाणित गरेको छ ।
राजमार्ग निर्माण अघि यहाँका वासिन्दालाई भात खान चाडपर्व कुर्नुपर्ने, हरियो तरकारीका लागि जङ्गलमा सिस्नो टिप्न जानुपर्ने तथा गाडी चढ्न काभ्रे सदरमुकाम धुलिखेल धाउनुपथ्र्यो । अहिले राजमार्ग वरपरका वासिन्दालाई गरिखानका लागि मार्ग प्रशस्त बनेको सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सानुकाजी श्रेष्ठ बताउनुहुन्छ ।
सिन्धुलीवासीले जुनारखेतीलाई जीवन निर्वाहको प्रमुख आधार वनाएका छन् । विगतमा बारीमा मिल्किएर जाने जुनार बिक्रीबाट पैसा प्राप्त भएपछि सिन्धुलीवासी जुनारको व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
जुनार केन्द्रीय सहकारी सङ्घका महासचिव निर्मलकुमार रम्तेल एकपाथी मकै फल्ने जमिनमा एक जुनारको बिरुवा लगाउन सकिने बताउनुहुन्छ । एक बोट जुनारबाट औसतमा रु दुई हजारदेखि रु दुई हजार ५०० सम्म आम्दानी लिन सकिन्छ । जिल्लाका तीनकन्या, रतनचुरा, भुवनेश्वरी, वासेश्वर, वितिजोर, जलकन्या, मजुवा गाविसमा तीन हजार ६१६ रोपनी जग्गामा जुनारखेती गरिन्छ ।
ती गाविसमा रु २१ करोड बराबरको जुनार उत्पादन हुन्छ । त्यसैले सरकारले सिन्धुलीलाई जुनार पकेट क्षेत्रका रुपमा विकास गरेको छ । सरकारले आव २०७३÷७४ को बजेटमार्फत घोषण गरेको ‘एक गाउँ एक उत्पादन’ (ओभिओपी) कार्यक्रमले जिल्लालाई थप उत्साह प्रदान गरेको छ ।
उक्त कार्यक्रमको अनुशरण जापानबाट गरिएको हो । कार्यक्रम कार्यान्वयन सार्वजनिक, निजी र साझेदारी अवधारणअनुरुप उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को सहकार्यमा कृषि उद्यम केन्द्र (केइसी) मार्फत देशको ४६ जिल्लामा लागूभएको छ । जिल्लामा रु तीन करोड ६५ लाख ४४ हजार लगानीमा जुनारको जुस कारखानासमेत स्थापना गरिएको छ ।
धुलिखेलदेखि बर्दिबाससम्मको कुल १५८ किमी सडक निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । उक्त राजमार्ग जापान सरकारले सन् २०१५ जुलाई ३ मा नेपाललाई हस्तान्तरण गरेको हो । उक्त भेगका नागरिकले २० वर्ष पहिले स्याल लुक्ने भिर, वनमारा, तीतेपाती, कालीमुन्टे र सिस्नो उम्रने क्षेत्र राजमार्गमा परिणत होला भन्ने सोचेकै थिएनन् । तर बिश्वेश्वर प्रसाद कोइरालाले कल्पना गरेको सो मार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएपश्चात् यस भेगका हजारौँ नागरिकको आर्थिक, सामाजिक र राजनीतिक जीवनमा समेत परिवर्तन आएको छ ।
धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिलसुन्दर श्रेष्ठले राजमार्ग निर्माणपश्चात् बनेपा, धुलिखेल, दुम्जा, खुरकोट, मङ्गलटार, झाँगाझोली, ग्वालटार, सिन्धुलीलगायतका प्रमुख सहरको विकासमा थप टेवा मिलेको बताउनुभयो । राजमार्ग निर्माणपछि जुनार मात्र होइन मौसमी तथा बेमौसमी तरकारीखेती गरी जिल्लाका ग्वालटार, दुम्जा, झाँगाझोली, भीमेश्वर, वासेश्वर र भुवनेश्वरी गाविसका वासन्दिाको जीवनस्तरमा सुधार आएको छ ।
बिपी राजमार्गको करिडोरमा पर्ने उक्त क्षेत्रका वासिन्दाले रोसी र कोसीको पानीलाई पाइपमार्फत बारीमा लैजाने तथा पोखरी निर्माण, सीप हस्तान्तरण, प्लास्टिक घर, लिफट सिँचाइ आयोजना, गोठेमल सुधारलगायतका क्रियाकलाप अपनाई उत्पानदनमा सहभागी भएका छन् । झाँगाझोलीका २४ वर्षीय सागर श्रेष्ठले फ्यूचर इम्प्लाइमेन्ट सर्भिसले मलेसिया जान उपलब्ध गराएको राहदानी त्यागेका छन् ।
पूर्व झाँगाझोली–४ स्थित साला–भेना तरकारी फार्मका सञ्चालक कुशल चौलागाईं र जीवन पोखरेलले संयुक्त रुपमा छ रोपनी जग्गा भाडामा लिएका छन् । एकथरी युवा वैदेशिक रोजगारमा जान हानथाप गरिरहेका अवस्थामा दुम्जाका नवराज भण्डारी, भीमेश्वरका केपी पोखरेल, दीपक थापा, वासेश्वरका राजु थापा, बृहस्पति थापा र भुवनेश्वरीका कुशल चौलागार्इं, दुर्गा थापालगायतका युवाले राहदानी त्यागेका छन् । रासस