राष्ट्रपति भण्डारीबाट डा केसीको अनशनमा चासो व्यक्त; संवाद गर्न तीन सदस्यीय वार्ता टोली गठन
काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत डा गोविन्द केसीको माग र उहाँको स्वास्थ्य अवस्थाका बारेमा आज स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग चासो व्यक्त गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री चौधरीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले डा केसीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो ।
भेटमा राष्ट्रपतिले डा केसीको जीवनरक्षाका लागि पहल गर्न आग्रह गनुभएको थियो ।
जवाफमा मन्त्री चौधरीले माग पूरा गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि वार्ता टोली गठन गर्न लागिएको जानकारी दिनुभएको थियो ।
उहाँले डा केसीले उठाउनुभएका अधिकांश माग सुनुवाइका क्रममा रहेको र अनशन टुङ्ग्याउन पहल भइरहेकाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।
सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार र डा केसीबीच भएका सहमति कार्यान्वयन सुरु गरिसकिएको उहाँको भनाइ थियो । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेश, २०६९ खारेज गर्ने निर्णयसमेत गरेको छ । सोबमोजिम विभिन्न कम्पनीका नाममा जारी भएका इजाजतपत्र खारेज गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै सरकारले स्थानीय शान्ति समितिको म्याद यही साउन १ गतेदेखि लागू हुनेगरी एक वर्षका लागि थप गरेको छ । रासस