सडकमा सौर्य बत्ती जडान गरिने
दाङ, ८ साउन । दाङको तुलसीपुर नगरपालिकाले रु ८० लाखको लगानीमा नगरपालिकाका मुख्य सडक र विभिन्न आठवटा टोलका सडकमा सौर्य बत्ती जडान गर्ने
भएको छ ।
नगरपालिकाका इन्जिनियर पवनकुमार योगीकाअनुसार जनसहभागितामा आधारित सौर्य बत्ती जडान परियोजना अन्तर्गत आगामी भदौदेखि उज्यालो तुलसीपुर बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गर्ने कार्यक्रम सुरु गर्न लागिएको हो ।
सौर्य बत्ती जडान गर्ने परियोजना यसअघि नै अगाडि सारिए पनि नगरपालिकाले बजेट तथा विभिन्न कारणले काम सुरु हुन नसकेको नगरपालिकाका इन्जिनियर योगीले बताउनुभयो ।
‘पहिलो चरणमा आठ टोलमा सडक बत्ती जडान गर्न लागेका छाँैं विस्तारै अन्य स्थानमा पनि जडान हुने छ उहाँले भन्नुभयो ।’ यो वर्ष स्थानीय विकास मन्त्रालयले सडकमा सोलार लाइट जडान गर्न रु ५२ लाख तुलसीपुर नगरपालिकालाई दिने भएको छ ।
यसवर्ष तुलसीपुरको ‘क’ लाइन, ‘ख’ लाइन बरुवा गाउँ टोलमा सौर्य बत्ती जडान हुनेछन् । तुलसीपुरका नमुना, चाँदनी, भानुभक्त, आर्दशनगर, प्रतिभा, हात्तीखैवा, बरुवा गाउँका सडकमा ८० वटा सोलार लाइट जडान हुने छन् ।
परियोजनाको रु ५२ लाख, नगरपालिकाको रु १६
लाख र उपभोक्ताको रु १२ लाखको सहभागितामा नगरभित्रका विभिन्न सडकमा सौर्य बत्ती जडान गरिने नगरपालिकाले जनाएको छ ।
सौर्यबत्ती जडानका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको छ । सडकमा बत्ती जडानसँगै रातमा पनि बजार उज्यालो हुनुका साथै सुरक्षाको दृष्टिकोणले पनि राम्रो हुनेअपेक्षा गरिएको छ । बजारमा चोरीका घटना कम हुने पनि बताइएको छ । रासस