मुद्दा फछ्र्योट उत्साहजनक छ : प्रधानन्यायाधीश
काठमाडौँ, ११ साउन । प्रधानन्यायाधीश सुशीला कार्कीले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभएको छ ।
सर्वोच्च अदातलले सोमबारदेखि सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापनमा उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी व्यक्त गर्नुभयो ।
प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्न सफल भएकामा धन्यवाद दिँदै अदालतको सेवा प्रवाहमा प्रभावकारीता ल्याई न्यायमा सहज पहुँचको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
उहाँले अघिल्लो आवमा सम्पन्न भएका राम्रा कामलाई निरन्तरता दिन र गतवर्ष सम्पन्न गर्न नसकिएका काम चालु आवमा थप उत्साहका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
समीक्षाका क्रममा सर्वोच्च अदालत तथा देशभरका पुनरावेदन र मातहात जिल्ला अदालतको कार्यप्रगति प्रस्तुतीकरण तथा छलफल भएको थियो ।
एक वर्षको कार्य समीक्षामा अधिकांश अदालतले योजनाले निर्धारण गरेबमोजिम लक्ष्य हासिल गर्न सफल भएको देखिएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । रासस