राप्रपा–राप्रपा नेपाल एकता साउन २५ मा
काठमाडौं, २२ साउन । पूर्व पञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच यहि साउन २५गते पार्टी एकता हुने भएको छ ।
राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिवार विज्ञप्ति जारी गरी साउन २५ गते पार्टी एकीकरण घोषणा गरिने जानकारी दिएका हुन् ।
लामो समयको छलफलपछि दुई राप्रपाबीच एकीकरण घोषणासभा गर्ने निश्चित भएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शनिवार राणा र थापाबीच पार्टी एकतासम्बन्धि नौ बुँदे सहमति भएसँगै साउन २५ गते पार्टी एकता गर्ने घोषणा गरिएको हो ।
एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी दुई वटा अध्यक्ष पद राखिने भएको छ । राणा राष्ट्रिय अध्यक्ष तथा थापा अध्यक्ष हुने सहमति बनेको छ ।
एकताका लागि राप्रपाले लामो समयदेखि वार्ता समिति बनाएर छलफल अगाडि बढाएको थियो । ब्यवस्थापिका संसदमा राप्रपा नेपाल २५ सिटसहित चौथो ठूलो पार्टी रहेको छ भने राप्रपाको १२ सिट रहेको छ ।