प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई दिए यस्तो निर्देशन
काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रस्तुत बजेट र नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न आयोजित कार्यक्रममा उनले कुन–कुन विकास निर्माणका आयोजना कति समयभित्र सम्पन्न गर्न सकिन्छ समयावधि तोकेर मुख्यसचिवमार्फत सो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका हुन् ।
प्रचण्डले संविधान कार्यान्वयनमा देखापरेका असन्तुष्टि हटाई सर्वस्वीकार्य काम गर्न, शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन, भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण र नवनिर्माण प्रक्रियालाई गति दिन, सार्वजनिक प्रशासनलाई चुस्त तथा दुरुस्त बनाउन र आर्थिक संमृद्धिका लागि कसरी अघि बढ््न सकिन्छ भनी कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव सान्तबहादुर श्रेष्ठले जानकारी दिए ।
यसैगरी, सरकारका काम कारबाही गुणस्तरीय र पारदर्शी बनाउन, गरिबसँग सरकारका योजनालाई साकार पार्न, पूँजिगत खर्चलाई प्रभावकारी बनाउन, विदेशबाट आउने नेपालीलाई भन्सारमा आइपर्ने समस्या निराकरण गर्न, विद्युतभार कटौती न्यून गर्न, टे«ड युनियनसँग समन्वय गर्न र राष्ट्रिय गौरवका आयोजना अघि बढाउने सम्बन्धमा पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए । रासस