गोरखाका ३३ हजारभन्दा बढीले अनुदान पाए
गोरखा, ४ भदौ । भूकम्पपीडितलाई निजी आवास (घर) बनाउन सरकारले दिएको अनुदान गोरखाका ३३ हजार ८७१ जनाले बुझेका छन् ।
रु ५० हजारका दरले भूकम्पपीडितलाई अनुदान रकम विभिन्न बैंकमार्फत उपलब्ध गराइएको हो । गतवर्ष वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले ७० हजारभन्दा बढी घर भत्किएको भएपनि तथ्याङ्क सङ्कलनपछि ५८ हजार ५०३ घरधुरीलाई पुनःनिर्माणमा अनुदान दिइने सरकारले बताएको थियो ।
जिल्ला विकास समितिका योजना अधिकृत सतिश भट्टराईका अनुसार लाप्राक र बूढीगण्डकी प्रभावित क्षेत्रका भूकम्पपीडितको अनुदान सम्झौता गर्न बाँकी छ । अहिलेसम्म ४९ हजार ७५८ जना लाभग्राहीसँग अनुदान सम्झौता गरिसकिएको भट्टराईले बताउनुभयो ।
यस्तै, २५ गाविसका भूकम्पपीडितले पहिलो किस्ताअनुसारको रु ५० हजारका दरले रकम पाइसकेका छन् । बारपाक, सौरपानी, हंशपुरलगायत गाविसमा घर निर्माण सुरु भएको छ ।
पन्ध्र हजार ६२९ जनाले आफूहरु वास्तविक भूकम्पपीडित भएको तर अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएपनि गुनासोउपर कुनै छलफल भएको छैन । रासस