हिंसा पीडित महिलाको आँशु पुच्छन तल्लीन कोपिला (आलेख)
चन्द्रकला भण्डारी / झापा, ९ असोज । सादा जीवन उच्च विचारकी धनी कोपिला बस्नेत गत साता जर्मनीमा सम्मानित भइन् । घरेलु हिंसामा परेका महिलाहरूको सहारा बनेकी कोपिलालाई संयुक्त राज्य अमेरिकाको फिमोफन्ड संस्थाले १० लाख रुपैयाँ नगदसहित जर्मनीमा पुरस्कृत गरेको हो ।
‘पुरस्कार पाउँदा सपना जस्तो लागिरहेको थियो,’ विर्तामोड–७ की कोपिला बस्नेतले त्यो क्षणको अनुभव सुनाइन् – ‘मैले मानवीय सेवा गरेकी हुँ । त्यत्रो मूल्याङ्कन गरेर विदेशी संस्थाले पुरस्कार देला भन्ने कहिल्यै कल्पना गरेको थिइनँ ।’
कोपिला पेसाले वकिल हुन् । अदालती कामकाजमा उनको अनुभव लामो छ र पृथक पनि । उनीकहाँ न्याय दिलाई पाउँ भनी धेरै हिंसा पीडित महिला आउँथे, आउँछन् । वकिलको काम नै अन्याय विरुद्ध लडेर पीडितलाई न्याय दिलाउनु हो । तर, जब कोपिलाले पीडितका लागि न्याय दिलाउन थालिन्, अर्को समस्या आइप¥यो । पीडितको आर्थिक समस्याले मुद्दा लड्नै अप्ठ्यारो भएको देखिन् । आर्थिक र मानसिक दुवै कारणले कमजोर भएका महिलालाई समाजमा पुनःस्थापित गर्न सीप सिकाएर आत्मनिर्भर बनाउने सोच कोपिलामा पलायो । तर, त्यो कार्य त्यति सजिलो थिएन ।
बा¥ह वर्ष अघि हिंसा पीडित महिलालाई स्वरोजगार बनाउने उद्देश्यले बिर्तामोडकै केही मन मिल्ने साथीसँग मिलेर ढाका उद्योग खोलिन् उनले । तर, ढाका उद्योग चलेन । सङ्घर्षका क्षणहरू सुनाउँदै उनी भन्छिन् – ‘कानुनी उपचारका लागि आउने हिंसा पीडित दिदी बहिनीहरूका लागि आयमूलक कार्य गर्नु थियो, त्यसैले पोते उनेर बेच्न थाल्यौँ ।’
धेरैको सहयोग पाएकी कोपिलाको आलोचना गर्नेहरू पनि कम थिएनन् । तर, उनले कामलाई निरन्तरता दिइरहिन् । ‘कुर्सीमा बस्ने मात्र काम होइन, आर्थिक उपार्जनका लागि गरिने सबै काम उस्तै सम्मानित हुन्,’ उनले सोचिन् । वकिल भइसकेकी कोपिलालाई अदालतको इजलासमा कालो कोटमा वहस गरिरहेको देख्ने आफन्तको चाहना पनि गलत थिएन । तर कोपिलालाई वास्तविक पीडितलाई नै न्यायसँगै सीप दिलाउने कार्य मन प¥यो । उनले हिंसा पीडित महिलाको आँशु पुछ्ने काम नै रोजिन् ।
आफूसँगै न्यायका लागि आउने बहिनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु, उनीहरूलाई मुद्दा लड्नका लागि खर्चको जोहो गरिदिनु उनको दायित्व बनिसकेको थियो । त्यसैले उनले समाजका अगुवाहरूसँग मिलेर समुन्नत नेपाल नामको संस्था खोलिन् । त्यसमा उनका श्रीमान् विनोद बस्नेतको ठूलो सहयोग रहेको उनी बताउँछिन् ।
बच्चैदेखि निडर र स्वाभिमानी स्वभावकी कोपिला बिरामी लिएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धाउने क्रममा एकपटक अस्ट्रेलियाली नागरिक वान्डीमोरसँग भेट भयो । कोपिलाले उनलाई आफूले गर्दै गरेको कामको बारेमा जानकारी गराइन् । उनी कोपिलाको कामबाट प्रभावित भइन् । र, आफूले लगाएको कानको माटाको कुण्डल देखाएर वान्डीमोरले उनलाई यस्तै सीपमा लाग्न सुझाइन् । माटाको गहनामा रुची देखाए पछि वान्डीमोरलाई समुन्नत नेपालमै ल्याएर काम सिकिन् कोपिलाले ।
हिंसा पीडित महिलाहरूको स्थिति र कोपिलाले गरिरहेको काम देखेर वान्डीमोरले नै जर्मनीको स्टाडलर कम्पनीबाट पोलिमर माटो मगाएर विभिन्न डिजाइनका गहना बनाउन सिकाएकी हुन् । कोपिला सुनाउँछिन् – ‘वान्डीमोरले गहनाको बजार संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जर्मनीमा विस्तार गर्न सहयोग गरेपछि हामीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्यो ।’
त्यति मात्र होइन वान्डीमोरको सहयोगमै तीन बर्ष अघि कोपिला युरोपेली मुलुक माल्टामा भएको गोष्ठी र प्रशिक्षणमा सहभागी भइन् । उनले त्यहाँ विश्वका विभिन्न मुलुकबाट सहभागी भएका प्रतिनिधिहरूलाई नेपालमा पनि पोलिमर क्लेका गहना बनाएर हिंसा पीडित महिलाका लागि काम गरेको र उनीहरूलाई आत्मनिर्भर बनाएको जानकारी गराइन् ।
‘त्यही बेला नेपालको पनि हेक्का राखिएको रहेछ,’ उनले भनिन् – ‘स्थानीय तहमा रहेर मानवीय सेवामा काम गर्ने संस्थालाई छानेर पुरस्कृत गर्दा हाम्रो संस्था परेछ ।’ यही भदौ १४ गते जर्मनीमा अमेरिकाको फिमोफन्ड संस्थाको ५० औँ वर्षगाँठमा कोपिला सम्मानित भएकी हुन् ।
‘मलाई अन्तरराष्ट्रियस्तरमा मुलुकलाई चिनाउन पाएकामा गर्व छ,’ बस्नेतले भनिन् – ‘तर सँगसँगै सम्मानको गरिमालाई जोगाएर लैजानु पर्ने दायित्व पनि थपिएको छ ।’ हुन त यहाँसम्म आइपुग्न कोपिलाले झेलेका चुनौती र समस्याको चाङ अग्लै छ ।
धरान–८ भोटेपुलमा आमा लक्ष्मी खड्का र बुबा स्व. केदार खड्काकी एक्ली छोरी कोपिलाको २०४९ सालमा विर्तामोडका उद्यमी युवा विनोद बस्नेतसँग विवाह भएको थियो । आइएलमा अध्ययन गर्दै गरेकी कोपिलाले विवाह पछि नै पढाइलाई पनि निरन्तरता दिइन् । र, उनले विराटनगरबाट एलएलएम गरी वकालत गर्न थालिन् । वकालत गर्ने क्रममा धेरै हिंसा व्यहोरेकी छिन्, कोपिला आफैँले । उनले कैयौँ पटक हिंसा पीडकबाट ज्यान मार्ने धम्की व्यहोर्नु परेको छ । उनी भन्छिन् – ‘तर, यिनै समस्या र चुनौतीसँग जुध्ने साहसले नै सयौँ महिलालाई न्याय दिलाउन सकेकी हँु ।’
यतिबेला समुन्नत नेपालको दुई तले भवन छ जहाँ २० जना हिंसा पीडित महिलाले रोजगारी पाइरहेका छन् । ‘कोपिला दिदी हाम्रा लागि आमा हुनुहुन्छ,’ संस्थाकी कर्मचारी गीता श्रेष्ठले भनिन् – ‘उहाँले हामीलाई न्यायसँगै बाँच्ने आधार दिनु भएको छ ।’ गीता पनि हिंसा पीडित महिला हुन् । घरेलु हिंसामा परेकी गीतालाई न्यायसँगै सीप सिकाएर कोपिलाले आत्मनिर्भर बन्न सिकाइन् । उनले भनिन् – ‘धेरै महिलाको आँशु पुछ्ने काम दिदीले गर्नुभएको छ जसले गर्दा आज अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउन सफल हुनु भएको हो ।’ रासस