बाला चतुर्दशी पर्व
काठमाडौँ, १२ मङ्सिर । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।
यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आज बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
“शास्त्रमा बरखी बारेर सेतो कपडा लगाएका बेला शिवको नामसम्म लिनु हुँदैन भनिएको छ तर व्यवहारमा प्राचीनकालदेखि नै यो परम्परा चली आएकाले यो पर्वका विषयमा खोजी गरिनु आवश्यक छ, बत्ती बाल्ने र सत्बीज छर्ने बरखी बारेका बेलामा होइन अरु बेलामा हो भन्ने शास्त्रीय प्रमाण छ”– उहाँले भन्नुभयो ।
सत्बीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उहाँले बताउनुभयो । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ । रासस