विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौँमा सुरु
काठमाडौँ, २१ मङ्सिर । अपाङ्गता भएका बालबालिका र युवाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै ‘हामीलाई समावेश गर’ भन्ने नारासहित आजबाट यहाँ तीनदिने विश्व अपाङ्गता समावेशी सम्मेलन सुरु भएको छ ।
स्वतन्त्र मानवीय सहयोग संस्था प्लान इन्टरनेसनलले विश्व अपाङ्गता समावेशी सम्मेलनको दोस्रो संस्करणअनुसार सम्मेलन काठमाडौँमा सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले नेपाल समावेशीता र सहभागितामूलक सिद्धान्तमा आधारित भई समानता र विभेदरहित समाज निर्माणका लागि अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अपाङ्गता समावेशी सम्मेलन नेपालमा आयोजना हुनुलाई मैले सान्दर्भिक ठानेको छु ।’’
विद्यमान अवरोध हटाएर अपाङ्गता भएका बालबालिकाका लागि समानतामूलक समाज निर्माण गर्न सबै पक्ष लाग्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।
समारोहमा प्लान इन्टरनेसनल नेपालका देशीय निर्देशक स्भेन कोपेन्सले प्लान इन्टरनेसनलले पछिल्ला वर्षमा अपाङ्गता भएका बालबालिकासहित बहिष्करण र पिछडिएका समूहका बालबालिकामाझ पुग्न उपयुक्त र विशिष्ट विज्ञता निर्माण गरेको बताउनुभयो ।
उहाँले प्लान इन्टरनेसनल लक्षित समुदायमा पुगेर नेपालको शिक्षामा अपाङ्गता समावेशीको मान्यता प्रवद्र्धन गर्न केन्द्रित रहेको बताउनुभयो । सम्मेलनमा राष्ट्रसङ्घकी विशेष प्रतिनिधि क्याटलिना डेभानडासले अपाङ्गता भएका व्यक्तिको अधिकारबारे धारणा राख्नुभएको थियो ।
सम्मेलनमा राष्ट्रसङ्घीय प्रतिनिधि, विभिन्न देशस्थित प्लान इन्टरनेसनलका प्रतिनिधि, प्राविधिक तथा अपाङ्गता भएका व्यक्तिका लागि क्रियाशील स्थानीय संस्थाका प्रतिनिधिसहित ४० देशबाट एक सय ३० जना सहभागी छन् । सहभागीले समावेशी शिक्षाबारे छलफल गर्दै ज्ञान आदानप्रदान गर्नुका साथै समावेशिता, लैङ्गिक समानता, किशोरी अधिकार र दिगो विकास लक्ष्य बीचको सम्बन्ध बलियो बनाउने विषयमा समेत छलफल गर्नेछन् ।
त्यस्तै, प्लान इन्टरनेसनलका समावेशी कार्यक्रम, लैङ्गिक समानता र किशोरी अधिकार प्रतिको प्रतिबद्धतामाथि संस्थागत कदमबारे विचार विमर्श हुनेछ । सम्मेलन डिसेम्बर ८ सम्म चल्नेछ । विश्वभरमा गरी एक करोड ५० लाखभन्दा बढी बालबालिकामा कुनै न कुनै खालको अपाङ्गता पाइन्छ । यस्ता बालबालिका उनीहरुको अपाङ्गताले गर्दा समुदायमा सङ्कट र बहिष्करणमा परेका छन् । रासस