नाट्टाको स्वर्ण महोत्सवमा पर्यटन प्रवद्र्धन कार्यक्रम
काठमाडौँ, २४ मङ्सिर । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को स्थापनाको पचास वर्ष पुगेको अवसरमा आज यहाँ पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाइएको छ । नेपालको पर्यटनःराष्ट्रिय प्राथमिकताको उद्योग भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा विदेशबाट आएका ट्राभल तथा टुर व्यवसायी, पर्यटनविद्बीच पर्यटन बजार प्रवद्र्धनका लागि गोलमेच बैठक,पुरस्कार वितरणलगायतका कार्यक्रमको आयोजना गरियो ।
सो कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको समृद्धिमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताउँदै भन्नुभयो– “नपढेकाले हलो जोत्न छोडेको र पढेकाले थलो छाडेको अवस्थामा पर्यटन क्षेत्रको विकास गर्न चुनौती थपिएको छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको बताउँदै त्यसको विकासका लागि व्यवसायी तथा विज्ञसँग सुझाव लिएर नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
पूर्व पर्यटनमन्त्री प्रदीप ज्ञवालीले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै पर्यटनको विकासका लागि भौतिक संरचना तथा पूर्वाधारका साथै विमानस्थलको पनि विकास गर्न खाँचो रहेको औँल्याउनुभयो ।
नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि विश्वव्यापी रुपमा प्रयास भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा यस वर्षको सगरमाथा अवार्ड पुराना पर्यटन व्यवसायी टेकचन्द्र पोखरेल तथा भाष्कर अवार्ड सुदर्शन ढकाललाई प्रदान गरिएको थियो । करिब एक हजार ट्राभल टुर व्यवसायीको छाता संगठनको रुपमा रहेको नाट्टा सन् १९६८ मा स्थापना भएको हो ।
त्यस्तै पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने उद्योगी, व्यवसायी तथा नाट्टाका पूर्व अध्यक्षलाई समेत सम्मान गरिएको थियो । केही सञ्चारकर्मी तथा सञ्चार संस्थालाई पुरस्कार प्रदान गरिएको थियो । दैनिक पत्रिकाबाट सन्तोष पोखरेल, म्यागाजिनबाट नवीन काफ्ले, अनलाइन मेडियाबाट रामेश्वर कार्की तथा एबिसी टेलिभिजनलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि नगद रु २५ हजार तथा कदरपत्र रहेको छ । रासस