मानव अधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक हुन्छ — प्रवक्ता अन्सारी
नेपालगन्ज, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आमनेपाली जनता उकुसमुकुसको अवस्थामा छन्, मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको छ ।”
उहाँले मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन तथा दोषीमाथि कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गर्ने फाइलउपर समयमा छिनोफानो नहुँदा आयोगप्रति नागरिकमा वितृष्णा उत्पन्न हुन थालेको छ भन्नुभयो ।
प्रवक्ता अन्सारीको थप कथन थियो, “मानवअधिकार संरक्षण एवम् सम्वद्र्धनमा राष्ट्रिय संयन्त्रहरू प्रभावकारी नभएका कारणले नै सरकार र जनताबीचको दुरी बढ्ने गरेको छ, यो सुखद पक्ष होइन ।”
प्रवक्ता अन्सारीले मानवअधिकार उल्लङ्घनकर्ताहरूको सूची आयोगसँग छ भन्दै आयोगले उनीहरूको नाम छिट्टै सार्वजनिक गर्नेसमेत बताउनुभयो । रासस