शाश्वत धामः सबैको गन्तव्य; शाश्वत धामबाट सांस्कृतिक धार्मिक पर्यटनको विकास हुने राष्ट्रपतिको विश्वास
कावासोती, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले निर्माण गरेको शाश्वत धामको आज उद्घाटन गर्दै उहाँले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता कायम गर्दै सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद र योगको ज्ञानको विकास भएको लामो इतिहास भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधता मानवजातिको वैभवका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशङ्करले शाश्वत जीवन देख्न शाश्वत धाम आउनुपर्ने बताउँदै सबै धर्म एक साथ रहेका छन् भन्नुभयो ।
भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले शाश्वत धामको विकासले यस क्षेत्रको गरिमा बढेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले योग र साधनाको महत्वपूर्ण केन्द्रका रुपमा सनातन धर्म रहेको बताउँदै सनातन मूल्य र मान्यताको अध्ययन केन्द्रका रुपमा शाश्वत धाम रहेको बताउनुभयो । नेपाली संस्कृतिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको समेत उहाँले बताउनुभयो ।
श्रीलङ्काका मन्त्री एवम् युनाइटेड नेसनल पार्टीका नेता दया गमावेले आर्ट अफ लिभिङले जीवन जिउने कला सिकाएको बताउनुभयो ।
चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले नेपालमा सनातन धर्मको रक्षा गर्दै देशभरका मन्दिरमा पुजारीको व्यवस्था गर्न धामले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सोही अवसरमा जयपुर फुटका डाडी आर मेहताले कृत्रिम हाटखुट्टा बनाउनका लागि सहयोग पु¥याउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आज नै शाश्वतधाममा प्राणप्रतिष्ठा गरिएको छ । कार्यक्रममा हिन्दू, बौद्ध, शिख र जैन धर्मका गुरुहरुको सहभागिता थियो ।
शाश्वत धामः सबैको गन्तव्य
नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाम धार्मिक केन्द्रका रुपमा विकास हुने भएको छ । हिन्दू धर्मावलम्बीका लागि ठूलो आस्थाको केन्द्रका रुपमा चौधरी ग्रुपद्वारा निर्मिति धामलाई विकास गरिन लागेको हो । ऐतिहासिक किंबदन्तीका आधारमा शक्तिशाली मानिएका ७५ ठाउँको विशेषता यहाँ पाइन्छ । परशुराम, स्वर्गद्वारी, रिडी, डोलेश्वर, पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्डलगायत ठाउँका प्रतिरुप यहाँ राखिएको छ जहाँ मुक्तिनाथको जल समेत पाइन्छ ।
सिजीका सिएसआर प्रमुख रामचन्द्र धितालले भन्नुभयो, “यसलाई विश्वका हिन्दूहरुको गन्तव्यस्थलका रुपमा निर्माण गरिएको छ, शाश्वत धाम सर्वोतीर्थ सरोवरका रुपमा समेत रहेको छ ।”
उद्योगपति विनोद चौधरीको परिकल्पनामा विसं २०६०तिर देखि निर्माण थालिएको सो धाम १४ वर्षमा सम्पन्न गरिएको छ । “यसमा इन्जिनियर नारायण श्रेष्ठको डिजाइज रहेको छ र परिकल्पना र डिजाइज दिने काम विनोदबाबुले गर्नुभयो । त्यसलाई उतार्ने काम नारायणजीले गर्नुभएको हो” धितालले भन्नुभयो
सात बिघा क्षेत्रफलमा निर्माण गरिएको धाममा गुरुकुल पनि रहेको छ, जहाँ १० जिल्लाका २९ बालबालिका अध्ययनरत छन् । धाममा चौधरीका पिता लुनकरण दासको अस्तु राखिएको समाधि र सालिकसमेत निर्माण गरिएको छ । झट्ट हेर्दा यहाँ पसेपछि कोही पनि निस्कन खोज्दैन ।
बाह्र राशि र २७ नक्षत्रका बोटसमेत यस क्षेत्रमा रहेका छन् । खजुरवाना शैलीमा भारत गुजरातका इमान हुसेन कालीगढले धामको निर्माण गरेका हुन् । अत्यन्त कलात्मक रुपमा निर्माण भएको सो धाम आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । यहाँको वातावरणीय सुन्दरता पनि औधि नै छ ।
“यहाँ ऐतिहासिकता झल्कने अन्नपूर्ण भोजनालयसमेत रहेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले एक पटक पूर्वपश्चिम हिँडेका जो कोही पनि यहाँ रोकिने अवस्था आएको छ” दिव्यपुरीका बासिन्दा तिलप्रसाद पाठकले भन्नुभयो ।
चितवनको भरतपुर विमानस्थल ओर्लेर २२ किमी यात्रा गरेपछि यहाँ सजिलै आउन सकिन्छ । लुम्बिनी आउने राजमार्ग पनि यहीँ भएकाले त्यहाँबाट दुईदेखि साढे दुई घन्टाको बस यात्राबाट शाश्वतधाम आउन सकिन्छ ।
नेपालको धार्मिक गन्तव्यका रुपमा समेत यसलाई लिन सकिन्छ । धामक्षेत्र वरपरका बासिन्दा धामले गर्दा यहाँको रमणियता सुन्दरता बढेको बताउने गरेका छन् ।
“दुम्कौलीसँगै सिङ्गो देवचुली नगरपालिकालाई धार्मिक गाउँको रुपमा विकास हुने अवस्था आयो” स्थानीयवासी दीपक शर्माले भन्नुभयो, “विनोदबाबुले यो ठाउँ उद्योग र धार्मिक क्षेत्रको रुपमा चिनाउनुभयो ।” धार्मिक जागरणसमेत ल्याउने काम यो धामको निर्माणले हुने शर्माले बताउनुभयो ।
देवचुली र वरचुलीको काख नारायणी नदीको समीपमा भएकाले यसको धार्मिक महत्व झन् बढी रहेको स्थानीयवासी बिना न्यौपाने बताउनुहुन्छ । “भौगोलिक हिसाबले सुगम भएकाले यहाँ आउन चाहना राख्नेहरु सजिलै आउन सक्छन्” उहाँले भन्नुभयो, “भगवान् राम वनवास गएको समय जति यो निर्माण गर्न लागेछ, यो संयोग हेर्नेहोस् त कस्तो मिलेको । ”
यस क्षेत्रका वृद्धवृद्धाले आस्थाको पुञ्जका रुपमा तथा युवा पुस्ताले यसलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बुझेका छन् । धामले सबै नेपालीलाई जोड्ने काम गरेको स्थानीयवासीको बुझाइ छ । हिन्दू, बौद्ध, शिख सबैलाई यसले एक ठाउँमा उभिन सहयोग पु¥याउने विश्वास स्थानीयवासीले लिएका छन् । रासस