आयोगको टोलीद्वारा नमुना मतपत्र छपाइको अवलोकन
काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरुको टोलीले स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको नमुना मतपत्रको छपाइसम्बन्धी कार्यको आज जानकारी लियो ।
आयोगको टोली आज दिउँसो जनक शिक्षा सामग्री लिमिटेड पुगेर नमुना मतपत्र छपाइबारे जानकारी लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा छ प्रकारका मतपत्र रहने जानकारी गराइसकेको छ ।
आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख मतदाताको नामावली सङ्कलन गरिसकेको छ । त्यसका लागि आयोगले करिब एक करोड ६० लाख थान मतपत्र छाप्नेछ ।
सो क्रममा टोलीले मतपत्र छाप्ने मेसिनको क्षमता, गुणस्तर र मतपत्र छपाइ गर्दा आउन सक्ने प्राविधिक समस्याका बारेमा विस्तृत रुपमा जानकारी हासिल गर्नुभएको थियो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना बनाएर कामको प्राथमिकीकरणका आधारमा काम गर्दै आएको छ ।
आयोगले पछिल्लो समय मतदाता शिक्षासम्बन्धी प्रशिक्षण र तालिमलाई तीव्रता दिएको छ । रासस