सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति; राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट
काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभयो ।
सुरक्षा प्रबन्ध मिलाउँदा सीमावर्ती क्षेत्रमा आवश्यक पर्ने सूचना दुई देशबीच आदानप्रदान गर्ने तथा चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत, सामग्री र ज्ञानका लागि चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । तातोपानी नाकालाई खोल्न नेपालले चीन सरकारसँग निरन्तर आग्रह गरिरहेको र आजको भेटमा समेत सो विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ बिहीबार नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले आजै राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री र रक्षामन्त्रीसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो ।
राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा उहाँहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेको छ । सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ पनि उपस्थित हुनुहुन्थ्यो । रासस