राष्ट्रपति नयाँदिल्लीमा; राष्ट्र्पति फर्किंदा वैशाख ८ गते बिदा नहुने
भरत केसी / नयाँदिल्ली, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ ।
त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानुहुनेछ ।
राष्ट्र्पति फर्किंदा वैशाख ८ गते बिदा नहुने
राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ ।
गृह मन्त्रालयले आज यहाँ एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।
यसअघि आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुवै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।
राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ भ्रमण पूरा गरी यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । रासस