आज ऐतिहासिक निर्वाचन, उल्लासका साथ मतदान सुरु
काठमाडौँ : ऐतिहासिक स्थानीय तह निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान आज अपरान्ह ५ बजेसम्म चल्नेछ । नयाँ संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिलो पटक हुन लागेको हो ।
३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । ठूलो उत्साहका साथ मतदाता मतदानमा सहभागी भइरहेका छन् । ६, ६४२ मतदान केन्द्रमार्फत ४९ लाख ५३ हजार नौ सय २५ मतदाताले नयाँ नेतृत्व चयन प्रक्रियामा भाग लिइरहेका छन् ।
यो निर्वाचनबाट १३ हजार पाँच सर ५६ जनप्रतिनिधि चयन हुँदैछन् । त्यसमध्ये तीन सय २९ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणको निर्वाचन हुन लागेका ३४ जिल्लाअन्तर्गत देशमा रहेका सबै ४ महानगरपालिकामा पनि मतदान सुरु भएको छ । ३४ जिल्लामा रहेका ४ महानगरसहित एक उपमहानगर, ९२ नगरपालिका तथा १८६ गाउँपालिकाका मतदान केन्द्रमा सात बजेबाटै मतदान सुरु भएको जिल्लामा रहेका नयाँ पत्रिकाकर्मीहरूले जनाएका छन् ।
काठमाडौं, ललितपुर, भरतपुर तथा पोखरा–लेखनाथ महानगरपालिकामा तोकिएका मतदान केन्द्रमा मतदाताको ठूलो उपस्थिति देखिएको ती जिल्लाबाट नयाँ पत्रिकाकर्मीले पठाएको रिपोर्टमा उल्लेख छ । ललितपुरबाट नयाँ पत्रिकाकर्मी वीरेन्द्र ओलीले ेजनाएनुसार बिहान झिसमिसेदेखि नै विभिन्न मतदान केन्द्रमा मतदाताको उपस्थिति भएको थियो । पोखराबाट विष्णु घिमिरेले पनि मतदानको क्रममा ठूलो उत्साह देखिएको छ । यस्तै, भरतपुरबाट दीपेन्द्र अधिकारीले जनाएअनुसार ठीक सात बजेबाट भरतपुर महानगरपालिकासहित चितवन जिल्लाका स्थानीय निकायअन्तर्गत रहेका मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा पनि मतदान सुरु भएको छ । हेटौंडाबाट नयाँ पत्रिकाकर्मी सुदीप सिवाकोटीले जनाएअनुसार बिहान ७ बजेबाटै जिल्लाका सबै एक सय ६४ मतदान केन्द्रमा एक साथ मतदान सुरु भइसकेको छ ।
सिंहदरबारको शासन गाउँगाउँमा पुर्याउने गरी स्थानीय सरकार गठन गर्न अहिले मतदान भइरहेको छ । नयाँ संविधानले निर्धारण गरेका ७४४ स्थानीय तहमध्ये बाँकी ४१ जिल्लाका स्थानीय निकायमा भने आगामी ३१ जेठका लागि मतदानको दिन तय गरिएको छ । दोस्रो चरणको निर्वाचन कार्यक्रम १९ जेठबाट सुरु हुनेछ । रासस