उपत्यकामा पर्यटनस्थल थपिँदै
काठमाडौँ , असार १० गते । काठमाडौँ वरिपरिको पहाडी शृङ्खलासहितको ऐतिहासिक, धार्मिक सम्पदायुक्त क्षेत्रलाई ‘नेपाल मण्डल पर्यटन नगरी’का रूपमा प्रवद्र्धन गरिने भएको छ । राजधानीमा शुक्रबार आयोजित गोष्ठीमा काठमाडौँ उपत्यकामा भएका विश्व सम्पदामा सूचीकृत सम्पदाका साथै राजधानी वरिपरिका पाँच क्षेत्रलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने जानकारी दिइयो ।
चन्द्रागिरी–चम्पादेवी, गोदावरी–फुलचोकी, नगरकोट–जरसिंहपौवा, शिवपुरी–ककनी र जामाचो–दहचोकलाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गरिने छ । गोष्ठीमा लेखक पदम श्रेष्ठले ती सम्पदा स्थललाई पर्यटन नगरीका रूपमा प्रवद्र्धन गर्दा उपत्यका वरिपरिका सबै क्षेत्रको समान विकास, आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य हुने बताउनुभयो ।