आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन- प्रधानमन्त्री देउवा
विराटनगर, भदौ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”
संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गर्नुभयो ।
नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो ।
नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवासमक्ष पत्रकारको जिज्ञासामा उहाँले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पार्नुभयो ।
मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गर्नुभएको छ । रासस