तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’
पोखरा, असोज १३ गते । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो ।
सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ चल्ने सो मनोरम तथा अकल्पनीय दृश्य तनहूँ जिल्लास्थित ढोरवाराही मन्दिर परिसरको हो ।
‘प्राकृतिक तथा सांस्कृतिक नयाँ गन्तव्यको पहिचान’ भन्ने नारासहित ३८औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धन सम्भाव्यता अध्ययन अवलोकनका लागि ढोरवाराही मन्दिर परिसरमा पुगेको विज्ञसहितको पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीलाई सो लहरीले भव्य स्वागत गरेको थियो ।
नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाको आयोजना तथा पर्यटन बोर्ड प्रवद्र्धक र मिलेनियम ट्रेक व्यवस्थापन समितिको समन्वयमा ढोरवाराही मन्दिर परिसरमा टोली पुग्नासाथ चलेको लहरीले भरिएको कुण्ड र झरनाले स्वागत गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतले बताउनुभयो ।
उहाँका अनुसार लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा पानी आउने मुहानतर्फ जम्मा भएर दृश्यावलोक गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई भित्रबाट पानी आउँदैछ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता रहेकोछ ।
कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको बताउँदै महत भन्नुहुन्छ, “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् ।
विशेषगरी ढोरवाराही देवीको उत्पत्ति श्रीपञ्चमीका दिन भएकाले उक्त दिनका साथै नयाँ वर्ष र अन्य चाडपर्वका बेला भक्तजनको भीड लाग्ने गरेको छ । अन्य दिनमा पनि ३०० भन्दा बढी भक्तजन तथा दर्शक लहरी हेर्न र कुण्डमा स्नान गर्न आउने गरेका छन्, उहाँले भन्नुभयो ।
कुण्डमा रहेको ठूलो शिलामा बलि चढाउने गरिएको सो धार्मिक क्षेत्रमा दैनिक २० देखि ५० वटासम्म पाठापाठी बलि दिने गरेको र बलि दिएका जनावरको टाउको जिम्मा लिन र सरसफाइ गर्न वार्षिक रु २० लाखमा शुक्लागण्डकी नगरपालिकाले ठेक्कामा दिएको छ ।
ढोरवाराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल संवत् ९११ सालमा चढाएको घण्ट अहिले पनि सुरक्षित रहेको पुजारी चिरञ्जीवी लम्साल बताउनुहुन्छ ।
पहाडभित्र रहेको ठूलो पानीको तलाउमा छाल चल्दा पानीसँगै सो स्थानमा बाहिर निस्केको बहाव लहरी बन्ने गरेको हुनसक्ने टोलीमा संलग्न भूगोलविद् प्रा डा कृष्ण केसीको धारणा रहेको छ ।
यसको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “अनुकरणीय प्राकृतिक स्रोतको विश्वबजारमा बिक्री गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नु आवश्यक छ ।”
सेतीनदी किनारामा अवस्थित रकगार्डेन, तिब्बतीयन क्याम्प, ढोरवाराही मन्दिर र रहस्यमय लहरीलाई समेटेर आन्तरिक एवं बाह्य पर्यटकका लागि एकदिने यात्राको तयारीमा जुटेको नेपाल एक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक जीवन सापकोटा बताउनुहुन्छ ।
पृथ्वी राजमार्गखण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको शुक्लागण्डकी कार्यपालिका सदस्य गीता महतले जानकारी दिनुभयो ।
नगरपालिकाले गत आवमा रु ६० लाखको लागतमा मन्दिरस्थलसम्म बाटो विस्तार तथा एकतर्फी ढल बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै उहाँले भन्नुभयो, “यस वर्ष रु एक करोड छुट्याएर कालोपत्र गर्ने कार्यसमेत शुरु गरिएको छ ।”