गोली प्रहारबाट निर्माण व्यवसायी गौचनको मृत्यु
काठमाडौँ, असोज २३ गते । समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिनुभयो । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भन्नुभयो ।
डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन ।
मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जानकारी दिनुभएको छ ।