नेपाल युएइसँग ७ विकेटले पराजित
काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सार्तौ चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ ।
आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे । उनले १ सय १६ बलमा ८ चौका प्रहार गरे। मोहमद उस्मानले नटआउट १७ रन जोडे । त्यसअघि ओपनर रोहन मुस्ताफाले ६२ रन बनाए । उनले ७१ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र शरद भेषावकरले १–१ विकेट लिए ।
युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय २१ रन जोड्यो ।नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे । उनले ९५ बलमा ५ चौका प्रहार गरेका थिए ।