नियमित पठनपाठनको माग गर्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
महोत्तरी, पुस ३ गते । गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो १ बजेसम्म कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पछिल्लो समय प्रधानाध्यापक वंशिधर साह नियमितरुपमा विद्यालयका आउन छाडेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको शिक्षक श्यामलाल चौधरीले जानकारी गराउनुभयो । बालविकास तहमा कार्यरत शिक्षिका रीता यादवले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकै समयमा पढाउनुपर्ने बाध्यताले विद्यालयमा पठनपाठनको अवस्था गुणस्तरहीन हुँदै गएको स्वीकार गर्नुभयो ।
प्रधानाध्यापकको लापारबाहीले विद्यालयमा यस्ता समस्या बल्झिएको स्थानीयावासीले बताएका छन् । अनुगमनमा आउँदा प्रायःजसो शिक्षक विद्यालयमा अनुपस्थित रहँदै आएको विद्यालय व्यवस्थापन समितिका सदस्य राजकरणप्रसाद साहले बताउनुभयो ।
गौशाला नगरपालिका–३ का वडाध्यक्ष वीरेन्द्र चौधरीले मौखिकरुपमा विद्यालयलाई व्यवस्थित एवं सुधारका लागि गरिएको आग्रह बेवास्था गरिएको आरोप लगाउनुभयो ।