नाका खुलाउन चीनद्वारा सुरक्षा योजना माग
चित्र मिजार / सिन्धुपाल्चोक, पुस १२ गते । चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन् ।
नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभएको छ ।
ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट नेपालले पूरा गरे नाका केही महिना भित्रै खोल्ने चिनियाँ पक्षका पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्याङ्ग ग्वीले बताउनुभएको प्रजिअ तामाङले भन्नुभयो । तातोपानी नाकामा संयुक्त सुरक्षा योजनाबारे नेपालले प्रतिबद्धता गरे नाका खुलाउनेतिर चिनियाँ लाग्ने ग्वीको भनाई उद्धृत गर्दै प्रजिअ तामाङले जानकारी दिनुभयो । संयुक्त सुरक्षा योजनाबारे केन्द्रीय सरकारलाई जानकारी गराई टोलीको नेतृत्व गर्नुभएका प्रजिअले यसमा केन्द्रको निर्देशन चाहिने जानकारी दिएको बताउनुभयो ।
ग्वीको नेतृत्वमा आठ सदस्यीय चिनियाँ टोली र प्रजिअ तामाङ नेतृत्वमा अध्यागमन, भन्सार, सीमा प्रहरीलगायत १३ जनाको टोलीले तातोपानी नाका खोल्ने विषयमा छलफल गरेको बताइएको छ ।
बर्सेनि २० अर्बभन्दा बढीको आयात तथा पौने तीन अर्बको निर्यात हुँदै आएको तातोपानी नाका पूर्ण बन्द छ । नाका बन्द हुँदा नेपाली व्यापारीले कामै छाड्नु परेका र विस्थापितसमेत हुन पुगेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले सरकारले सीमा सुरक्षाको उचित प्रबन्ध मिलाई नाका खुलाउन लागि दिन आग्रह गर्नुभयो । ‘नाका अवरुद्ध हुँदा हजारौंको रोजिरोटी गुमेको छ । अब नाका खुलाई काम गरेर खान पाइने वातावरण बनाइदिनु प¥यो –अध्यक्ष श्रेष्ठले अनुरोध गर्नुभयो ।
व्यापारिक कारोबार गर्न नेपाल पक्षको सबै पूर्वाधार तयारी हालतमा रहेको तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभएको छ । नाका खुलाउने पहलकदमी तत्काल सरकारले लिनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सदस्य गोविन्द चौलागाईले बताउनुभयो । उक्त नाका आबद्ध व्यापारी व्यवसायी सङ्घ संस्थाले राजनीतिक दलका शीर्ष नेता र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएर र भेटवार्ता गरी नाका खुलाइदिन अनुरोध गरिएको पनि चौलागाईले जानकारी दिनुभयो ।