थोपा सिँचाइले किसानलाई राहत
ताप्लेजुङ, पुस २० गते । ताप्लेजुङको याङ्वरक गाउँपालिका–४, डुम्रिसेका किसानलाई थोपा सिँचाइले राहत दिएको छ । जिल्ला सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा साविक डुम्रिसे–७, माखोजा बस्तीमा थोपा सिँचाइका लागि पोखरी निर्माण गरेपछि स्थानीय किसानलाई राहत पुगेको हो ।
सिँचाइ डिभिजन कार्यालयको आठ लाख र जन श्रमदानसमेत करिब १० लाख रुपियाँको लागतमा चैते ताल पोखरी निर्माण भएको हो । पोखरी निर्माण भएसँगै माखोजा बस्तीका ३५ घर परिवारलाई राहत मिलेको स्थानीय रमेशकुमार राईले जानकारी दिनुभयो । अहिलेको हिउँदे समयमा तरकारी, फलफूल लगायत खेतीका लागि थोपा सिँचाइ प्रविधि अत्यन्तै प्रभावकारी भएको उहाँको अनुभव छ । सुख्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल बनाएर गरिएको खेतीमा थोपा सिँचाइ गर्दा थोरै जग्गाबाट पनि धेरै राम्रो फाइदा लिन सकिएको राईको भनाइ छ । सिँचाइकै अभावमा अधिकांश किसानले चाहेर पनि तरकारी, फलफूल र अन्य खेती गर्न सकेका थिएनन्, उहाँले भन्नुभयो, पोखरी निर्माण पछि अहिले माखोजाका सबै किसान खेतीमा सक्रिय छन् ।
सिँचाइका लागि प्रशस्त पानीको स्रोत नभएका ठाउँमा सानो पानीको मुहानलाई संरक्षण गरी पोखरी निर्माण गरेर थोपा सिँचाइ विधि अपनाउन सकिने भएकाले किसानको सोच यसतर्फ बढ्दैगएको हो । थोपा सिँचाइमार्फत व्यावसायिक कृषि खेती गरेर राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र थोपा सिँचाइ प्रविधि निक्कै प्रभावकारी हुने अगुवा किसान बताउँछन् ।