डेढ महिनामा बाह्र सय टन धुलो
काठमाडौँ, पुस २२ गते । काठमाडौँ महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान अन्तर्गत डेढ महिनाको अवधिमा एक हजार २०० टन धुलो संकलन गरेको छ ।
गत मंसिर पहिलो हप्तादेखि शुरु भएको सो अभियानअन्तर्गत सुन्धारामा रहेको कामपा ढोकादेखि हालसम्ममा नयाँ सडक, रत्नपार्क, जमल, लैनचौर, पुतली सडक, सिंहदरबार आसपास, त्रिपुरेश्वर, भद्रकाली र बानेश्वर क्षेत्रको धुलो संकलन भइसकेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिनुभयो ।
संकलित धुलो टेकुमा व्यवस्थापन गरिँदै आएको छ । सडक विभागका १० र कामपाका २५ कामदार सो कामका लागि निरन्तर लागिरहेका छन् । हरेक दिन सरदर १२ टन धुलो संकलन हुने गरेको छ । निर्वाचित जनप्रतिनिधि आएपछि अहिले बिहान धुलो जम्मा गर्ने र बेलुका पानीले सडक सफा गरिँदै आएको छ । सम्भव भएसम्म सफा गरिएको स्थानमा पुनः काम गर्ने योजना रहेको थापाले जानकारी दिनुभयो ।