‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा
रत्ननगर, चितवन, माघ २ गते । साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।
आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ रमणीय बन्दै थियो । जब काउन्टडाउन शुन्यमा झ¥यो तब ‘स कर्णाली’ गुञ्जन शुरु भयो । दर्शक उफ्री उफ्री मच्चिन थाले ।
तिलचामल हुँदै गरेको लामो कपाल पछाडि बाँटेर हल्का फूलेको जुँगा मुसार्दै निस्किनुभयो अमृत गुरुङ । उहाँलाई देख्नासाथ दर्शक उत्साहित भए । स्टेज तात्न थाल्यो । ‘भेडाको ऊन जस्तो’ गीत स्टेजमा गाउन थाल्नुभयो । गुरुङको स्वरसँग दर्शकको स्वर मिसियो । ‘छेक्यो छेक्यो देउराली डाँडा’ पनि पस्किए । त्यतिबेलासम्म भीडले नारायणी किनार ढाकिसकेको थियो ।
दाताज इभेन्ट एण्ड म्यानेजमेन्टले चितवनको अत्याधुनिक प्रविधिसहितको संगीत प्रणालीमा नेपथ्य व्याण्डको ‘नेपथ्य लाइभ २०१८’ आयोजना गरेको थियो ।
‘चार वर्षदेखि सांगीतिक कार्यक्रम गर्दै आएको थिएँ, यति ठूलो भीडका बीच नेपालकै उत्कृष्ट व्याण्ड ल्याएर दर्शक नचाउन पाएकामा खुशी छु,’ इभेन्ट प्रमुख दाताराम घिमिरेले भन्नुभयो ।
‘सात गण्डकीको संगम स्थल नारायणी नदीको किनार, चितवनको यो माहोल, माघे संक्रान्तिको दिनमा तपाईंहरुमाझ आउँदा हामी सबै हर्षले गद्गद् भएका छौं, हो…ई ।’ त्यसमा दर्शकले हो मा हो मिलाए । गुरुङले दुई हात जोडेर नमन गर्दै शिर झुकाउनुभयो ।
पmरक प्रस्तुति र मौलिक स्वाद पस्कने व्याण्डले २५औं वर्षगाँठ मनाइरहेको छ । त्यही अवसरमा २८ वर्ष अघिको पहिलो गीत, ‘आँगनै भरी’ प्रस्तुत भयो । प्रस्तुतिसँगै सम्बन्धित दृश्य पनि साथसाथै देखाउनु नेपथ्यको आफ्नो पहिचान हो । अनि सन्देशमूलक शब्द चयन गुरुङको आफ्नै मौलिकता हो ।
‘आज मलाई यस्तो लागेको छ कि म फूलै फूलको बीचमा बसेर गीत गाइरहेको छु, भाइ बहिनीहरुबीच गीत गाउँदा मलाई मेरो बैंशका दिनहरु याद आइरहेको छ,’ गुरुङले अलिकति वैंशका कुरा उधिन्दै भन्नुभयो – ‘मेरो अनुरोध छ है, कुनै पनि बच्चालाई घरभित्र लुकाएर राखिएको छ भने ती बच्चालाई स्कुलमा जान सबैले सहयोग गर्नु हो….ई ।’ दर्शकले एकै स्वरमा फेरि होईमा होई मिलाए ।
गायकमा शुरुदेखि अन्त्यसम्म युवा जोश हटेन । शुरुआती चरणमा नयाँ गीत ‘शिरफूल शिरैमा,’ गाउनुभयो । खान्न म त लाम पाते सुरती, उडायो रेलैले, जोमसोमै बजार, जोगले हुन्छ भेट क्रमैसँग गाउनुभयो । यति गीत गाउँदा करिव एक घण्टा बित्यो ।
नारायणी किनार तात्यो । युवा लुगा खोलेरै गीतमा झुम्न थाले । जोमसोमै बजारपछि माहोल थप तात्यो । नेपथ्य लाइभ हेर्दै व्यवस्थापकमध्येका एक सूर्यभक्त अधिकारीले नेपथ्य आफैंमा गीतसंगीतको ब्राण्ड भएको भन्दै यो चितवनको उत्कृष्ट कार्यक्रम बन्न सफल भएको प्रतिक्रिया दिनुभयो ।
गीत र संगीतको तालमा गायक गुरुङले कम्मर मर्काउँदै हाउभाउमा दर्शकलाई रोमाञ्चक बनाउन चुक्नुभएन । उहाँको प्रस्तुतिमा नेपालीपन र भाव झल्किन्थ्यो । एक हजार र पाँच सय रुपैयाँको टिकट काटेका दर्शक नारायणी किनारमा हजारौं थिए ।
चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेशसभा सदस्य विजय सुवेदीको परिवारसहित नेपथ्यसँग रमाउनुभयो । चितवनका प्रहरी उपरीक्षक दीपक थापा र उहाँको परिवार नेपथ्यको गीतमा झुम्दै नाच्नुभयो । प्रदेशसभा सदस्य सुवेदीले नेपालीपनको उत्कृष्ट प्रस्तुति भन्दै नेपथ्यको प्रशंसा गर्नुभयो ।
बीच बीचमा सन्देश बाँड्ने गुरुङले डा गोविन्द केसीको आन्दोलनमा साथ दिन पनि अपिल गर्नुभयो । ‘हिमाल पहाड तराई कोही छैन पराई, हामी मिलेर बसौं हो…ई ।’ यसरी उहाँले राष्ट्रियताको सन्देश बाँड्नुभयो । लोकसंस्कृति र भाषा बचाउन पनि उहाँले आग्रह गर्नुभयो ।
देश बनाउन हामी आफैं लाग्नुपर्छ भन्दै गुरुङले ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत प्रस्तुत गर्दा कम्मर नमर्काउने दर्शक शायदै थिए ।
उहाँले तिमी पनि नेपाली म पनि नेपाली, यो जिन्दगानी, हिमाल चुचुरे, रेशम, तालको पानी गाएर दर्शकलाई २ घण्टा मुग्ध पार्नुभयो । उहाँले ‘रातो र चन्द्र सूर्य’ गीतबाट दर्शकसामु एकताको सन्देश छाड्दै प्रस्तुतिको बीट मार्नुभयो ।
उहाँलाई ड्रम्समा ध्रुव लामा, देश गितारमा सुविन शाक्य, मादलमा शान्ति रायमाझी, पियानोमा सुरज थापा र गितारमा निरज गुरुङले साथ दिनुभएको थियो । शान्ति यात्राका क्रममा चितवनको रत्ननगरमा नेपथ्य व्याण्डले ४ वर्ष अघि प्रस्तुति दिएको थियो ।