घरबास पदमार्ग अन्वेषण भ्रमण
पोखरा, माघ ७ गते । गाउँ पर्यटन प्रवद्र्धनमञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरवास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्ग प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ ।
भिटोफका पदाधिकारी, सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको सहभागितामा उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो ।
पदयात्रा र घरवास पर्यटन एक अर्कामा सम्बन्धित भएका कारण यी दुबैलाई एकैसाथ अघि बढाउन भिटोफले ‘घरवास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफका अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो ।
पदमार्ग छोटिदै गएको अवस्थामा घरवास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।
कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोडिदा यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो ।
भिटोफका सल्लाहकार डा प्रेम शर्माले भन्नुभयो, “सुन्दर गाउँका बस्तीलाई व्यवस्थित गर्दै आयआर्जन गर्न सकिने कुरालाई स्थानीयवासीका साथै राज्यले प्राथमिकतामा राख्नु आवश्यक छ । ”
भिटोफका पूर्व अध्यक्ष तारानाथ पहारीले घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ । रासस