सुन्तला : नफल्ने ठाउँमा सस्तो, बोटमा महँगो
फिदिम, माघ १५ गते । झापाको विर्तामोडमा सुन्तला उत्पादन हुँदैन तर त्यहाँ सुन्तला सस्तोमा पाइन्छ । यता पाँचथर फिदिम क्षेत्र सुन्तलाको पकेट हो तर यहाँ भने महँगोमा किन्नु पर्छ । सस्तोमा सुन्तला मागे फिदिमका व्यापारीले अचम्म लाग्ने गरी झापामा गए सस्तैमा पाइने जवाफ दिन्छन् ।
हुन पनि टाढा–टाढादेखि ढुवानी गरेर विर्तामोड पु¥याइने सुन्तला धेरै सस्तोमा पाइने जनाइएको छ । अहिले फिदिममा सुन्तला प्रतिकिलो १६० रुपियाँ छ भने विर्तामोडमा ११० रुपियाँसम्ममा पाइन्छ । फिदिममा कम र विर्तामोडमा बढी आपूर्ति हुँदा सुन्तलाको किन बेचको मूल्य दर यस्तो कायम हुने गरेको देखिएको छ । पाँचथरका ठूला व्यापारी सबै सुन्तला बेच्न एकैचोटि विर्तामोड पु¥याउँछन् । त्यसैगरी पाँचथरमा सुन्तला सञ्चय गर्ने शीत भण्डार छैन । यसका कारण आपूर्ति कम हुन जाँदा फिदिममा सुन्तला सिजनमा पनि महँगो हुने गरेको छ ।
फलफूलको थोक बजार अभावले पनि सुन्तला महँगो पर्न जाने गरेको फिदिमका हरि फलफूल पसलका व्यापारी हरिप्रसाद भट्टराईले बताउनुभयो । पाँचथरको विभिन्न ठाउँका बगानका सुन्तला ठूला व्यापारीले खरिद गरेर गाडीका गाडी विर्तामोड लाने गरेका हुन् । तिनै व्यापारीले छोडेका साना बगानका सुन्तलाले फिदिम बजारको माग धान्ने गरेको छ ।
साना बगानका सुन्तला बोटमै महँगोमा किन्नु पर्दा बेच्दा पनि महँगै पर्न जाने अर्का व्यापारी उर्मिला बाँस्कोटाले बताउनुभयो । त्यसो त यसपालि पाँचथरमा गत वर्षभन्दा ५० प्रतिशतले घटेर फल्नाले पनि सुन्तला महँगिएको पाइएको छ । पोहोर यही समयमा फिदिममा सुन्तला प्रतिकिलो ८० रुपियाँमा बिकेकोमा यसपालि दोब्बर बढी मूल्यमा बेच्नु परिरहेको उर्मिलाले सुनाउनुभयो ।
यसबाट साना बगानवाला किसानलाई भने फाइदा मिलिरहेको उहाँले बताउनुभयो । यही मौकामा महँगिएको सुन्तलाबाट फाइदा लिन कतिपय साना व्यापारीले पनि विर्तामोड लान छोडेर फिदिममै बेच्ने गरेका छन् । अहिले फिदिम बजारमा नजिकैको फिदिमको सिवा, चोकमागु, साम्दीन, तालखर्क, मालवासे, र सुभाङ गाविसलगायतको सुन्तला बिक्री भइरहेको छ ।