मध्य तमोर जलविद्युत् आयोजना: ५४ बाट ७३ मेगावाट उत्पादन बढ्ने
चन्द्र पन्दाक / ताप्लेजुङ, फागुन २८ गते । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागेको मध्य तमोर जलविद्युत् आयोजनाको क्षेमता वृद्धि हुने भएको छ । आयोजनाबाट ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने भएको हो ।
सुरुमा ५४ मेगावाट विद्युत् उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढ्ने भएको हो ।
सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गर्नुपर्ने भएको हो । हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने भएको आयोजनाले जनाएको छ । सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिले आयोजना निर्माणका लागि गएको जेठमा विद्युत् विभाग ऊर्जा मन्त्रालयबाट अनुमति प्राप्त गरेपछि आयोजनाको काम अघि बढाइएको हो ।
जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीबाट आयोजना निर्माण गर्न लागिएको र आयोजनाको प्रस्तावित साविकको बाँध रहने मित्लुङ तथा विद्युत् गृह रहने चितवाङ क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएको हो । प्राकृतिक प्रकोपको जोखिमसँगै साविक स्थलहरू परिवर्तन भई उत्पादन क्षमता ७३ मेगावाट कायम भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न जनसङ्ख्या तथा वातावरण मन्त्रालयले सहमति दिएको आयोजनाले जनाएको छ ।
आयोजनाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनको विषयमा जानकारी दिन साथै सुझाव सङ्कलनका लागि शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरियो । सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिको वातावरण विभागले पहिलो चरणको अध्ययन प्रतिवेदन पछि प्राप्त सुझावका आधारमा पुरक प्रतिवेदन तयार पारी त्यसमाथि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र परामर्शका लागि सार्वजनिक सुनुवाइको आयोजना गरिएको परियोजनाका कार्यकारी निर्देशक डाक्टर सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार मध्य तमोर जलविद्युत् आयोजनाको वातावरणीय तथा इन्जिनियरिङ परामर्शदाता कम्पनी सानिमा हाइड्रो एन्ड इञ्जिनियरिङ प्रालिले वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण नियमावली २०५४ को अधीनमा रही तयार पारेको पुरक प्रतिवेदनमाथि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय सङ्कलन भएको छ । “प्रभावित क्षेत्रका समुदायले उठाएका राय तथा परामर्शलाई समेत समावेश गरी पुरक प्रतिवेदनलाई कार्यान्वयनमा लगिने छ” श्रेष्ठले भन्नुभयो ।
फक्ताङ्लुङ गाउँपालिका १ सावादिन र मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहने आयोजनाको फुङ्लिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ । आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिब तीन हजार ३६७ मिटरको सुरुङ मार्गमार्फत खोक्लिङको थुम्बा बेसीमा विद्युत् गृह निर्माण गरिने छ ।
परियोजनाका वरिष्ठ वातावरण अधिकृत अर्विन्द्र श्रेष्ठका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् आयोजनाको स्वीचयार्डदेखि करिब १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा प्रस्तावित नेपाल विद्युत् प्राधिकरणको ढु्ङगेसाँघु सव–स्टेसनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजाको तयारी छ । कुल १२ अर्ब रुपियाँ बराबरको लगानीमा निर्माण गर्न लागिएको आयोजनाको रकममध्ये २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैङ्कलगायत सातवटा बैङ्कहरूको लगानी रहने श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाको निर्माण अवधि चार वर्षको रहने अर्थात् २०७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
यता आयोजना समयमै सम्पन्न गर्नुपर्ने स्थानीय सरोकारवालाले बताएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, आयोजना प्रभावित गाउँपालिकाका अध्यक्षद्वय फक्ताङ्लुङका सरोज एभेङ र मिक्वाखोलाका रामकुमार साँबालगायतले लक्ष्यअनुसार नै समयभित्र आयोजना सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पनि आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । जिसीले कानुनी प्रावधान बमोजिम प्रभावित क्षेत्रले पाउने सुविधा तथा प्रभावित क्षेत्रका बासिन्दासँग भएका सम्झौता र समझदारीहरू कार्यान्वयन गर्न पनि आयोजनाको निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले स्थानीय प्रशासनको आवश्यक सहयोग रहने समेत बताउनुभयो ।