रूद्राक्ष खेतीमा किसानको आकर्षण
धनकुटा, वैशाख ३१ गते । कुनै बेला खाद्यबालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ । केही दशकअघिसम्म खाद्य बालीको खेती हुने गरेको यहाँको जमिन अहिले रुद्राक्षका बिरुवाले ढाकिन थालेको छ ।
धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महìवपूर्ण मानिएको रुद्राक्ष दानाको माग बढेसँगै यहाँका किसानले व्यावसायिक खेती सुरु गरेका हुन् ।
२०३२ सालमा भोजपुरको दिङ्लाबाट रुद्राक्षको बिरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गर्नुभएका अगुवा किसान चन्द्र केसीले हाल चार सय रुद्राक्षका बिरुवा खेती गनुभएको छ । हाल रुद्राक्ष दाना बिक्रीबाटै सबै खर्च टर्ने गरेको उहाँले बताउनुभयो ।
हाल सो गाउँका १४० घरपरिवारले रुद्राक्ष खेती गर्दै आइरहेका छन् । यहाँका किसानले घटीमा पाँच बोटदेखि चार सय बोटसम्म रुद्राक्षका बिरुवा लगाएका छन् । रुद्राक्षबाट वार्षिक प्रतिपरिवारले एक लाखदेखि तीस लाख रुपियाँसम्मको कारोबार गर्ने गरेका छन् ।
खाद्य बालीभन्दा रुद्राक्ष खेतीबाट दोब्बर फाइदा तथा खेती गर्न सहज हुने भएकाले यसखेतीतर्फ आकर्षित भएको स्थानीय नेत्र अधिकारीले बताउनुभयो ।
रुद्राक्ष खेतीलाई अरू बालीको जस्तो स्याहारसुसार गर्नुनपर्ने, सिँचाइ नचाहिने तथा सुख्खा ठाउँमा गर्न सकिने तथा व्यापारी घरघरमै किन्न आउने भएकाले रुद्राक्ष खेती नगदे बालीका रूपमा परिणत भएको हो ।
पूर्वको सङ्खुवासभा र भोजपुरमा हुने रुद्राक्ष खेतीप्रति धनकुटाका कृषकको समेत आकर्षण बढ्दो छ । धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महìवपूर्ण मानिएको रुद्राक्ष दानाको माग बढेसँगै धनकुटामा व्यावसायिक खेतीको लहर चलेको छ ।