महोत्तरीका बाढी पीडितलाई सवा ६ करोड
काठमाडौं। महोत्तरी जिल्लामा गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप ६ करोड २६ लाख वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराएको हो ।
सो रकममध्ये बाढीबाट क्षति भएका घरको मर्मतको लागि १५ हजार र न्यानो कपडाको लागि १० हजार गरी जम्मा २५ हजार प्रति परिवार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।
महोत्तरीका बाढीपीडितले झण्डै एक वर्षपछि राहत पाएका छन् भने उनीहरुले विगत एक वर्षमा २५ हजार भन्दा बढी ऋण, कर्जा गरिसकेकाले सरकारसँग पुनः थप राहतको माग गरेका छन् ।
महोत्तरीमा गतवर्ष साउनमा आएका भीषण बाढीले नौ जनाको मृत्यु हुनुका साथै हजारौँ घरवार विहीन भएका थिए । साथै जिल्लामा करोडौँ मूल्यको क्षति भएको थियो । रासस