बिचौलियालाई प्रवेश निषेध
लहान, भदौ २६ गते । यातायात व्यवस्था कार्यालय लहान सिरहाले आजदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयले सूचना प्रकाशित गरी लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।
कार्यालयमा बिचौलिया प्रवेश गरी भीडभाड गर्ने र सेवाग्राहीसँग काम गराउने नाममा अनावश्यक रकम असुल्ने गरेकाले उनीहरुलाई प्रवेशमा रोक लगाइएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।
बिचौलियाले कार्यालय अगाडि टेबुल राखेरै सेवाग्राहीको काम गराइदिने र सो काम गराइदिएबापत मनपरी रकम असुल्ने गरेकाले त्यसलाई निरुत्साहित गर्दै भीडभाड व्यवस्थित बनाउन यस्तो निर्णय लिइएको निमित्त कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।
अब लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकालाई मात्र सेवाग्राहीको काम गराउन कार्यालय प्रवेश गर्न दिइनेछ, निमित्त प्रमुख भट्टराईले भन्नुभयो, “लेखापढी व्यवसायी नरहेका सेवाग्राहीको काम गराउन भित्र आए कारबाही गरिनेछ ।”