लुक्लामा जहाज नआउँदा पर्यटक मारमा
विवश कुलुङ / सल्लेरी, भदौ ३० गते । सगरमाथा क्षेत्रमा पर्यटकको आगमन हुने एकमात्र विकल्पका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा छ दिनदेखि कुनै पनि उडान नहुँदा पर्यटकहरू मारमा परेका छन् । प्रतिकूल मौसमका कारण जहाज आउन नसक्दा नयाँ पर्यटकहरू आउन पाएका छैनन् भने सगरमाथा क्षेत्र आएका पर्यटकहरू फर्कन नपाएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । छ दिनदेखि पर्यटकहरू खुम्बु क्षेत्र नआउँदा दैनिक एक सय २५ जनाको हाराहारीमा खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकको सङ्ख्या अहिले शून्यमा झरेको पर्यटक प्रहरी कार्यालयका प्रमुख सरयुग महतोले बताउनुभयो ।
प्रतिकूल मौसमका कारण लुक्लामा नै पर्यटकहरू बस्न बाध्य भएको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ । अहिले पर्यटकहरू विमानस्थल आउँदै फर्कंदै गर्नुपरेको प्राधिकरणको लुक्लाका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार लुक्लामा नियमित रूपमा बिहानैदेखि मौसम खराब हुँदा उडान हुन सकेको छैन । मौसम खुल्ने कुनै सङ्केत नभएकाले अझै समय लाग्न सक्ने उहाँको अनुमान छ । प्राधिकरण लुक्ला कार्यालयका अनुसार अहिले तीन सयभन्दा बढी पर्यटक फर्कन नपाएर लुक्लामा नै अलपत्र परेका छन् । पर्यटकहरू खुम्बु क्षेत्रमा हिमालको आरोहण, अवलोकन गर्नुका साथै साहसिक खेल प्याराग्लाइडिङलगायत विभिन्न जीव जनावरहरूको अवलोकनमा आउने गर्छन् ।
सगरमाथा क्षेत्रमा पर्यटक नआएपछि व्यवसायी पनि मारमा परेका छन् । लुक्लास्थित विमानस्थल पर्यटक आगमनका लागि मात्र नभई खाद्यान्न ढुवानी गर्ने माध्यम पनि भएकोले कृषि उपज सामग्रीको अभाव सुरु भएको नाम्चे होटल व्यवसायी सङ्घका सदस्य लामाकाजी शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्रमा खासै कृषि उत्पादन नहुने भएकोले अधिकांश होटलमा काठमाडौँबाटै तरकारीले धान्दै आइरहेको हुँदा व्यवसायीलाई समस्या भएको हो । साथै पर्यटकीय बजारमा पर्यटक नै नआएपछि व्यापार पनि खस्केको नाम्चे होटल व्यवसायी सङ्घले जनाएको छ ।