सुपरमाईको उत्पादन दुई वर्षअघि नै
कोकिला ढकाल / इलाम, असोज २२ गते । इलाम नगरपालिका ५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । आगामी असोज २५ गते परीक्षण गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई वर्ष अगावै आयोजना सम्पन्न हुने चरणमा रहेको आयोजनाको निर्माणकर्ता भूगोल इन्फास्ट्रक्चर कम्पनी प्रालिका अध्यक्ष मोहनविक्रम कार्की अध्यक्षले जानकारी दिनुभयो ।
आयोजनाका लागि सानिमा बैङ्क लिमिटेड, सिद्धार्थ बैङ्क लिमिटेड, सेन्चुरी कमर्सियल बैङ्क लिमिटेड र ज्योति विकास बैङ्क लिमिटेडको एक अर्ब दश करोड र सञ्चालकहरूबाट ४० करोड गरी एक अर्ब ५० करोड रुपियाँको लगानीमा रहेको छ ।
विद्युत् उत्पादनका लागि तीन हजार २३५ मिटर लामो र २.३ मिटर ब्यास भएको हेडरेस पाइपमाफ्र्mत माईखोलाको पानी फर्काइएको छ । तीन सय मिटर लामो पेनस्टक पाइपबाट ल्याइएको पानीले विद्युत् गृहमा जडित दुईवटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरू सञ्चालन हुने र यहाँ जडान गरिएका दुईवटा वटा ‘थ्री फेज एसी सिनक्रोनस’ जेनेरेटरमार्फत ७८ सय किलोवाट विद्युत् उत्पादन गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
आयोजनाबाट वार्षिक सरदर ४७.३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन जनाइएको छ । आयोजना सम्पन्न भएपछि यसले उत्पादन गरेको ऊर्जा शक्ति काबेली कोरिडोरमा जोडिने बताइएको छ ।
यता इलामको सिद्धिखोलामा पनि सिद्धिखोला जलविद्युत् आयोजनाको काम सुरु भएको छ । रोङ गाउँपालिकाको रम्याङ फेदीमा बाँध बाँधेर सलकफुर फेदीमा पावर हाउस निर्माण गर्ने योजना रहेको निर्माणकर्ता मैनाचुली निर्माण सेवा प्रालिले जनाएको छ । कुल एक अर्ब ८३ करोड रुपियाँ लगानी रहने आयोजनाका लागि एक अर्ब २७ करोड रुपियाँ प्राइम कमर्सियल बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले आधा–आधा लगानी गर्ने सम्झौता भइसकेको लगानीकर्ता मदन अधिकारीले जानकारी दिनुभयो ।
‘एक्सेस रोड बनिसक्यो, साइड क्याम्प’ बन्दैछ, अधिकारीले भन्नुभयो, दसैँलगत्तै टर्वाइन पाइपको एल्सी खोलिने छ र तिहारपछिदेखि आयोजनाको थप काम अघि बढ्ने छ । आयोजनामा बाँकी लगानी लगानीकर्ताको इक्युटी सेयरबाट हुने लगानी कर्ता अधिकारीले जानकारी दिनुभयो । लगानीकर्ताहरू ५० देखि एक सय जनाले भित्रका एक लाखदेखि तीन करोड रुपियाँसम्म लगानी गरेको अधिकारीको भनाइ छ । २०७७ साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट दश मेगावाट विद्युत् उत्पादन हुने र पावर हाउसबाट १६ किलोमिटर ट्रान्समिसन लाइन भएर फिक्कलस्थित विद्युत् प्राधिकरण सव–स्टेसनमा जडान गरिने बताइएको छ ।
सिद्धिखोलासँगै जिल्लामा अन्य आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । इलामकै सुम्बेकमा ९.१ मेगावाटको सगरमाथा जलविद्युत् आयोजना निर्माण सुरु हुन लाग्दैछ । काम सुरु गर्न अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ ।
पुवाखोलामा ४ मेगावाटको पुवाखोला २, माइबेनीमा ९.२ मेगावाटका आयोजना पनि काम सुरु गर्ने तयारीमा छन् । जिल्लामा सानिमा माई, पञ्चकन्या, हिमाल दोलखा, पुवाखोला, पुवाखोला १ र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । क्यासकेडसहितका चार आयोजनाले दुई वर्षयता मात्रै उत्पादन सुरु गरेका थिए ।