नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न
काठमाडौँ, मङ्सिर २७ गते ।: नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गर्नुभएको थियो ।
बैठकमा दुई देशबीच पारस्परिक सम्बन्धका समग्र पाटोमा विचार विमर्श भएको र ती सबै छलफल फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन दुवै मुलुकले निकट सम्पर्कमा रहेर विचार आदानप्रदान गर्दै सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार निर्माण, व्यापार लगानी र ऊर्जाजस्ता पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्नेमा विशेष जोड दिइएको छ ।
विगतमा भएका सहमति समझदारीलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न नेपाल र चीनले सहमति जनाउनुका साथै आपसीहितका निम्ति उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा उहाँहरुबीच विमर्श भएको थियो ।
नेपाल–चीन सहायताका सन्दर्भमा नेपाली पक्षले आफ्ना प्राथमिकताबारे चीनलाई अवगत गराएको र त्यसैक्रममा दुवै देशले साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा छलफल गरेका थिए ।
बैठकमा चीनले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको थियो । त्यसअघि चीनका स्टेट काउन्सिलर वाङ यीसँग सचिव वैरागीले शिष्टाचार भेट गरी द्विपक्षीयहित र चासोका विविध विषयमा परामर्श गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्साल तथा अन्य सरकारी अधिकारीको सहभागिता थियो । रासस