वैशाखमा नेपालको भूउपग्रह प्रक्षेपण हुँदै
गोदावरी, पुस १७ गते । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।
‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउनुहुन्छ । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी उहाँले दिनुभयो । वैशाखदेखि प्रक्षेपण हुने उक्त भूउपग्रहबाट देशका विभिन्न स्थानको तस्वीर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भूउपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ ।
सङ्काय प्रमुख ढकालले भन्नुभयो, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भूउपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भूउपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । सफल प्रक्षेपणपछि नेपालका इञ्जिनीयर अन्य मुलुकभन्दा कम छैनन् भन्ने प्रमाणित पनि हुनेछ ।
उक्त भूउपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भूउपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।