आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप सम्पन्न
काठमाडौँ, माघ १५ गते । नेपालको भिडियो पत्रकारिताको क्षेत्रमा अग्रणी संस्था मानिने वल्र्डभ्यु नेपालले आमसंचारकर्मीहरुको लागि तीनदिने भिडियो स्टोरीटेलिंग वर्कसप हालै सम्पन्न गरेको छ । कार्यशालामा सहभागी संचारकर्मीहरुले मोवाईल फोनको प्रयोग गरेर छोटो भिडियो तयार गर्ने सीप सिक्नुको साथै कार्यशालाको अन्त्यमा सबै सहभागीहरुले छोटा भिडियोहरु निर्माण गरेका थिए ।
कार्यशालाको अन्तिम दिन सहभागीहरुले समसामयिक विषयमा तयार गरेका छोटा भिडियोहरुको प्रदर्शन गरिएको थियो । कार्यक्रमको अन्त्यमा बोल्दै वल्र्डभ्यु नेपालका अध्यक्ष भारतदत्त कोईरालाले संचारमाध्यमको प्रयोगको परम्परागत स्रोतमा परिवर्तन आएको बताउँदै त्यस अनुसार संचारकर्मीहरुले सामग्री संप्रेषण गर्नुपर्ने चुनौती आएको र यसै सन्दर्भमा वल्र्डभ्युले श्रव्य–दृष्य तालिम कार्यक्रम आयोजना गरेको बताउनुभयो । मोबाईल फोनको प्रयोग गरेर सहभागीहरुले निर्माण गरेका भिडियोहरु स्तरीय भएको र यस्तो तालिमलाई देशका अरु क्षेत्रहरुमा पनि बिस्तार गर्दै लैजाने कोईरालाले बताउनुभयो ।
कार्यशालाका प्रशिक्षक संचारकर्मी तथा फिल्म निर्देशक रमेश खड्काले हाते क्यामेरा र मोबाईल फोनको माध्यमबाट पनि स्तरीय भिडियोहरु बनाउन सकिने बताउनुभयो । कार्यशालामा वहाँले भिडियो स्टोरीटेलिंगका आवश्यक सीप,ज्ञान र प्रविधिको जानकारी दिनुको साथै भिडियो निर्माणको अभ्यास गराउनु भएको थियो । अभ्यासका दौरानमा सहभागीहरुले आफ्नो स्टोरीको विषय छान्ने, छायांकन गर्ने र सम्पादनको कार्य कार्यशालाको दौरानमा नै गरेका थिए । सहभागीहरुले तयार गरेका भिडियोहरुबाट आफु उत्साहित भएको र नेपालको सन्दर्भमा अनलाईन मिडियाहरुले भिडियोका विषयवस्तु समावेश गर्ने सरल तरिकाहरुको बारेमा पनि वहाँले जानकारी गराउनु भएको थियो । कार्यक्रमको पहिलो दिन संचारकर्मी रजनिश भण्डारीले मोबाईल फोनबाट मात्रै पनि कसरी भिडियो बनाउन सकिन्छ भन्ने कुराको जानकारी दिनु भएको थियो ।
सहभागी अधिकांश संचारकर्मीहरुले तालिमले आफुलाई प्रविधिसँग नजिक बनाएको र भिडियोको सैद्धान्तिक र व्यवहारिक अभ्यासले भविष्यमा काम गने आत्मविश्वास बढेको बताए । कार्यशालामा काठमाडौ,ललितपुर,भक्तपुर,कपिबस्तु,सिरहा,ईलाम,खोटाङ,गुल्मी,डँडेल्धुरा,काभ्रेपलाञ्चोक,,स्याङजा र भोजपुरबाट अनलाईन,टेलिभिजन र अन्य संचारमाध्यममा काम गरिरहेका संचारकर्मीहरु सहभागी थिए ।