जालपादेवी मन्दिर पुर्ननिर्माण क्रममा मुर्ति फेला
काठमाडौँ, चैत १९ गते । की.न.पा. ६ चारघरेमा रहेको जालपादेवी मन्दिरको पुर्ननिर्माण गर्ने क्रममा एउटा मुर्ति भेटिएको छ ।
जालन्धर पीठ, पिशाचेश्वर महादेव, जालपादेवी मन्दिर गत २०७२ वैशाख १२ को भूकम्पबाट क्षति भएपछि स्थानीयहरुको पहलमा बृहत चारघरे धार्मिक समिति गठन गरी चरणबद्ध रुपमा पुर्ननिर्माण गर्ने निर्णय गरी मिति २०७५ फागुन ९ गतेबाट कार्यको सुरुवात गरिएको थियो । दुई जना काम गर्ने कामदारलाई नियमित रुपमा काममा लगाई समितिका सदस्यहरु पुर्ननिर्माणको लागि आवश्यक रकमको जोहो गर्न अग्रसर थिए भने मन्दिर पुरातात्विक महत्वको ऐतिहासिक भएको हुँदा पुर्ननिर्माण कार्यलाई नेपाल सरकारको पुरातत्व विभाग संगको सहकार्यमा मात्र संचालन गर्नु पर्दछ भनि उक्त कार्यलयमा निरन्तर भेटघाट तथा सल्लाह सुझाव लिइदै आइएको थियो ।
पुरातत्वको सल्लाह बमोजिम नै पहिलो चरणमा मन्दिरलाई नचलाई मन्दिर बाहिरको भागमात्र सम्म बनाउने र मन्दिर वहिरको भाग पुरुवा माटो भएको हुँदा समितिको वैठकले आर.सी.सी. ढलान गरी माथिबाट ढुंगा वा टेलिईटा छाप्ने गरी कार्ययोजना बनाई आर.सी.सी. भन्दा अगाडी ईटा सोलिङ गर्ने कार्य चलिरहेको थियो । सोही क्रममा चैत्र १६ गते शनिबारको दिन भएको हुँदा स्थानीयहरुको पनि श्रमदान चलिरहेको थियो । ढलानलाई मन्दिरको अगाडी (पूर्वपट्टि) सिधा बनाउने उद्देश्यले मन्दिरको पूर्व उत्तर दिशामा पर्ने हाल रामेश्वर महर्जनको आफ्नो नीजि घर पछाडी रहेको माटोको ढिस्को खन्न लाग्दा उक्त मुर्ति फेला परेको थियो ।
खन्ने क्रममा पिकले मन्दिरको माथिल्लो भागमा लागेको हुँदा मुर्तिमा सानो चोइटा समेत गएको छ । सोही क्रममा संका लागी हातले नै माटो कोट्याउँदा मुर्ति भएको पाइएको थियो । मुर्ति भनि पहिचान गरिए लगत्तै स्थानीय जनप्रतिनिधीहरु वडा सदस्य श्रीमती मञ्जु बस्नेत बुढाथोकी, उत्तम नेपाल, सुनिल डंगोल तथा वडा अध्यक्ष न्हुछे बहादुर महर्जनलाई खबर गरियो । त्यस पश्चात नेपाल पुलिसलाई खबर गरियो । प्रहरीले खबर पाउने वित्तिकै डि.एस.पी. को नेतृत्वमा आफ्नो टोली आई उक्त मुर्ति प्राप्तबारे मुचुल्का तयार पार्ने काम भएको थियो । सोही क्रममा कीर्तिपुर नगरपालिकाको उपमेयर श्रीमती सरस्वती खडकाले जालपादेवी मन्दिर परिसरमा आई उक्त मुर्तिको अवलोकन गर्नु भयो । यसै क्रममा मुर्ति वरपरको माटो खोतल्ने कार्य चलिनै रहेको थियो भने मुर्तिका टुटेको भाग तथा अन्य ढुंगाहरु समेत भेटिई नै रहेको थियो ।
मुर्ति पछाडीबाट केही ढुंगाहरुले धकेली अगाडि झुकेको अवस्थामा थियो भने । मुर्ति पश्चिम दिशातर्फ फर्किएको अवस्थामा चारकुने कुदिएको ढुंगाको बेसमा रहेको थियो । चारकुने कुदिएको ढुंगाको उत्तरपट्टि जलधारा बग्ने स्थान समेत रहेको छ । उक्त चारकुने ढुंगा विचमा फुटेको अवस्थामा रहेको छ । उत्खनन गर्ने क्रममा मुर्तिका केही टुक्राहरु यत्रतत्र भेटिएका छन् । साँझको समयमा कीर्तिपुर नगरपालिकाको मेयर रमेश महर्जन तथा उपमेयर ज्यूहरुको पुन आगमन भई निरिक्षण समेत गर्नुभएको थियो । उहाँहरुसँगै मुर्तिकार तथा केही पत्रकार समेत आउनु भएको थियो । मुर्तिकारको अनुसार उक्त मुर्ति लिच्छविकालिन कै मुर्ति भएको र नाग कन्या समेत रहेको त्यस प्रकारको मुर्ति अहिलेसम्म नदेखेको जानकारी भयो । मुर्तिकारले भने बमोजिम उक्त मुर्ति विष्णु, लक्ष्मी तथा गरुणको साथै दुईवटा नागकन्या रहेको भन्ने बुझिएको छ । लक्ष्मीको स्वरुप पूर्ण रुपमा भएपनि विष्णुको स्वरुप कम्मर भन्दा मुनिमात्र रहेको र गरुणको खुट्टामात्र देखिने अवस्थामा रहेको छ । उत्खनन गर्ने क्रममा नै उक्त मुर्तिको दक्षिण पट्टी सूर्य को आकार कुदिएको चारपाटे ढुंगा भेटिएको छ । स्थानीय रामेश्वर महर्जनले जानकारी गराए अनुसार उक्त चारपाटे कुदिएको ढुंगा सूर्य नभई पुजा थाली राख्ने स्थान भएको बुझिएको छ ।
मुर्ति लिच्छविकालिन भएको हुँदा यसको सुरक्षाको जिम्मेवारी प्रहरीले धार्मिक समितिलाई नै दिएको हुँदा मन्दिर व्यवस्थापन चुस्त नभएसम्म मुख्य मुर्तिलाई रात्री समयमा बन्दकोठामा राखिने र विहान सोही स्थानमा राखिने निर्णय गरीएको छ । साँझ भए लगत्तै उत्खनन कार्यलाई अर्को दिन पनि निरन्तरता दिने निर्णय गर्दै प्राप्त भएका मूर्ति तथा मुर्ति संग सम्बन्धित ठानिएका अन्य ढुंगाहरुलाई सोही प्राङ्गणमा रहेको बृहत चारघरे समूहको कार्यालयमा राखिएको छ ।