युवालाई स्वरोजगार बनाउन अनुदानमा टेम्पो वितरण
भैरहवा, असार २६ गते । रुपन्देहीको सियारी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन टेम्पो प्रदान गरेको छ । स्वरोजगार ड्राइभिङ तालिम प्राप्त गरेका गाउँपालिकाभित्रका १८ जना युवालाई गाउँपालिकाले टेम्पो वितरण गरेको हो ।
गाउँपालिकमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत विगतमा विभिन्न तालिम सञ्चालन गरिएको थियो । त्यसमध्ये ड्राईभिङ तालिम लिएका १८ युवालाई पहिलो चरणको कार्यक्रम अन्तर्गत टेम्पो प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो ।
टेम्पो प्रदान गर्दै प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन गरेको कार्य अनुकरणीय रहेको बताउनुभयो । विदेशमा गएर श्रम बेच्नुभन्दा यहीं स्वरोजगार बनेर आत्मनिर्भर बन्ने अभियानमा लाग्न युवालाई आग्रह गर्दै उहाँले स्वरोजगार बन्न चाहने युवाका लागि प्रदेश सरकारले पनि अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो ।
प्रदेश साँसद तुलसीप्रसाद चौधरीले समृद्ध नेपाल खुशी जनता भन्ने प्रदेश सरकारको सपनालाइ साकार पार्न सियारी गाउँपालिकाले अग्रणी भूमिका खेल्न सफल भएको बताउनुभयो । तालिममा सिकेको सिपलाई सदुपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गर्न प्रत्येक टेम्पोलाई तीन लाख अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ, सामाजिक शाखा प्रमुख केशव भट्टराईलगायतले टेम्पोको सही सञ्चालन गरी सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।