सीमा रक्षाका लागि युवाले थाले हस्ताक्षर अभियान
काठमाडौं, मंसिर १० । सुदूरपश्चिमका युवाहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरबाट हस्ताक्षर अभियान सुरु गरेका छन् । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले मंगलबार हस्ताक्षर अभियान सुरु गरेको छ ।
‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मुल नारा लिएर सेतो कपडामा हस्ताक्षर संकलन सुरु भएको हो । सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाका सह–संयोजक विनोद विष्टले मातृभूमी रक्षाका लागि युवा एकजुट भएर सरकारलाई अतिक्रमित भूमी फिर्ताका लागि दवाव सिर्जना गर्न हस्ताक्षर अभियान संकलन गरेको बताए ।
सीमा रक्षाका लागि युवा जागरण अभियानका संयोजक मदन गिरीले हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाइने जानकारी दिए । हस्ताक्षर अभियानमा कञ्चनपुरका सक्रिय विद्यार्थी नेताहरुले समेत साथ दिएका छन् ।
राष्ट्रिय नागरिक संघर्ष समितिका संयोजक कृष्णानन्द भट्टले राष्ट्रियताका लागि युवा जाग्नु सकारात्मक भएको बताए ।