सङ्क्रमित उपचारपछि अन्यसँग सम्पर्कमा आउन नमिल्ने व्यवस्था मिलाइएकाे छ– स्वास्थ्य मन्त्रालय
काठमाडौँ, माघ २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ । चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ । अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार चीनको हुवेइ र वुहानलगायत २२ प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ । उक्त भाइरस चीनसहित २४ देशमा देखिएको छ । सरकारले कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक तयारी र उच्च सतर्कता अपनाइएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।
क्यारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्यपरीक्षण गरी शङ्कास्पदको प्रयोगशालामा परीक्षण गरिने, रोग लागेको शङ्का लागेमा आइसोलेसनमा राखिने, रोग सर्न नदिन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको आधारमा काम गरिने र सङ्क्रमित व्यक्ति भेटिए उपचारपछि निको भए पनि सङ्गठनको मापदण्डअनुसार नै अन्य व्यक्तिसँग सम्पर्कमा आउन नमिल्ने गरी राख्ने व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
चीनबाट ल्याउन लागिएका विद्यार्थी कोरोना भाइरसबाट सङ्क्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको पारेको छ । रासस