तरकारीको बिरुवा हुर्कदा मनमा खुसी हुर्कन्छ
नवीन शिशिर विक / बागलुङ, मंसिर ४ गते । गाउँमा रोजगारीको अभाव, परिवार पाल्नुपर्ने बाध्यता, वैदेशिक रोजगारको लागि अनिच्छुक, यस्तै बाध्यता र परिस्थितिले यामप्रसाद शर्मालाई बनायो कृषक ।
काठेखोला गाउँपालिका–२ भीमापोखरा सिमका यामप्रसाद शर्माले विगत १५ बर्षदेखि गाउँमै व्यावसायिक तरकारी खेती गरेर परिवार पाल्दै आउनुभएको छ ।
‘आवश्यकता नै आविष्कारको जननी हो’ भने जस्तै परम्परागत खेतीबाली छोडेर उहाँले तरकारी उत्पादनलाई व्यवसायिक बनाउने सोचका साथ मकै, गहुँकोदो गहुँ खेतीलाई विस्थापित गर्नुभयो ।
शर्माले करिब ४ रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ । उहाँले बन्दा, काउली, प्याज, लसुन, गोलभेडा, मोटर, केराउ जस्ता तकारीका साथै प्याज, बन्दाकाउलीका बिरुवा उत्पादन गरेर विक्री वितरण गर्दै आउनुभएको छ ।
विहान उठेदेखि झिसमिसेसम्म बारीमा रमाउने शर्मालाई तरकारी खेतीले मोहनी लगाएको छ । ‘बारीमा तरकारी हुर्कदा मनमा खुःसी हुर्कन्छ’ शर्माले भन्नुभयो–‘तरकारीमा रोग लाग्दा आफु बिरामी भए जस्तो लाग्छ ।’ उहाँले आफ्नै बारीमा गरेको मेहनतबाट बार्षिक दुई लाख रुपियाँसम्म बचत गर्न सफल भएको जानकारी दिनुभयो ।
‘विदेश जाने मन आएन, आफ्नै माटोमा पसिना बगाएको छु’ उहाँले भन्नुभयो–‘परिवारसँग बसेर मेहनत गर्नुको मज्जा पैसामा मात्रा कहाँ हुन्छ र ! शर्माको कृषि पेसामा उहाँकी श्रीमती सन्तु पौडेलले पनि साथ दिनुभएको छ । अब कृषिमै भविष्य खोज्ने हो ४६ वर्षीय शर्माले भन्नुभयो–‘आफ्नो माटोलाई सिंचाई गर्दै गर्वका साथ कृषक भनेर परिचय दिने गरेको छु ।’
बेमौसमी तरकारी उत्पादन गर्दा गाउँमै बजार मिल्ने भए पछि मौसम अनुसारको तरकारी विक्रीको लागि बागलुङ बजार पढाउने गर्नुभएको छ । उत्पादित कृषी उपजको बजारीकरणमा समस्या नभए पनि मेहनत अनुसारको पारिश्रमिक पाउन कठिन भएको शर्माको भनाई छ ।
अगुवा कृषकको परिचय निर्माण गर्नुभएका शर्मालाई काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० हजार रुपियाँ अनुदान उपलब्ध गराएको थियो । सिंचाई, उन्नतजातको बिउ, विजन तथा कृषि औजारको व्यवस्थापनमा सहयोग गरे गाउँमै रोजगारी सृजना गर्न सकिने उहाँको भनाई छ ।
तरकारी खेतीमा कुनै पनि रासायनीक मलको प्रयोग निषेध गरेको शर्माको भनाई छ । ‘कहिले काँही कमिलाको विषादी र डडुवाको औषधि बाहेक अन्य रासायनिक विषादी पनि प्रयोग गर्दैनौ’ उहाँले भन्नुभयो–‘गाईँ भैँसीको मल र गहुँत खेतीलाई पुग्छ ।