हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा
काठमाडौँ, जेठ १९ गते । पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ । सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई गुरुयोजनाले समावेश गरेका योजना अघि बढाउने उद्देश्यले अस्थायी घर टहरा हटाउन शुरु भएको कोषले जनाएको छ । कोषको जग्गामा स्थायी र अस्थायी गरी ५२ वटा संरचना निर्माण भएका छन् । तीमध्ये १४ वटा अस्थायी टहरा हटाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।
स्थायी संरचना निर्माण गरेर बस्नेलाई छिटोभन्दा छिटो हट्न कोषले सूचना जारी गरेको छ । हाललाई कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण केही दिनलाई समय दिएपनि निषेधाज्ञा खुलेसँगै संरचना नछोडे कोष भत्काउन बाध्य हुने सूचनामा उल्लेख गरिएको छ ।
यो क्षेत्रमा वृद्धाश्रम, गौशाला, हिन्दू विश्वविद्यालयलगायत संरचना बनाउने प्रस्तावित गुरुयोजनामा समावेश गरिएको छ । यसैगरी पशुपति क्षेत्रको तिलगङ्गा क्षेत्रका स्थानीयवासीलाई पनि जग्गा एकीकरण गरी गोठाटारमा नै बसाइने जनाइएको छ । पशुपतिपारिको राममन्दिरमुनिको तिलगङ्गा क्षेत्र अधिग्रहणका लागि यसअघि नै मुआब्जा वितरण भइसकेको छ ।
स्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सुझाव अनुसार गुरुयोजना पुनरावलोकनलाई अन्तिम चरणमा पु¥याएकामा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण केही काममा ढिलाई भएको सदस्य सचिव ढकालले सुनाउनुभयो ।
सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजनालाई अन्तिम रुप दिन गत जेठ १५ गते जारी बजेट वक्तव्यमा रु ३५ करोड विनियोजन गरेको छ । पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दूलगायत धर्मावलम्बीलाई आकर्षित गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी गुरुयोजना तयार पार्न लागिएको कोषले जनाएको छ । रासस