झापा, २० कात्तिक । नेपाली सेना कालीबहादुर गण चारआली ब्यारेकद्वारा झापाको घेराबारीमा बिहीबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
बिएन्डसी मेडिकल कलेज, मेची आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी झापा, जिल्ला जनस्वास्थ्य कार्यालय झापा, नेपाल रेडक्रस सोसाइटी घेराबारी र राजगढ, पथरिया, केचना गाविसको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ३११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमा ४२ जनामा मोतीबिन्दुको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल अनारमनी लगिएको नेत्ररोग विशेषज्ञ चिकित्सक मेमलाल राजवंशीले बताउनुभयो ।
त्यसैगरी शिविरमा अन्य ५८५ सर्वसाधारणले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराएकामा सबैभन्दा बढी महिलामा आङ खस्ने समस्या देखिएको बिएन्डसी मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ चिकित्सक ममता घिरौया राजवंशीले बताउनुभयो । उहाँका अनुसार ११० महिलाको स्वास्थ्य जाँच गर्दा अधिकांशमा यो समस्या देखिएका छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीको अगुवाइमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको जानकारी रेडक्रस झापाका सभापति लोकराज ढकालले दिनुभयो ।
कालीबहादुर गणका गणपति प्रमुख सेनानी खेमनारायण पौडेलले शिविरमा सर्पदंशबाट बच्ने उपायको बारेमा समेत सहभागी सबैलाई जानकारी गराएको बताउनुभयो । शिविरबाट घेराबारी, पथरिया, केचना राजगढ, बनियानीलगायतका गाविसबाट आएका एक हजारभन्दा बढीले स्वास्थ्य जाँच गराएर फाइदा लिएको गणका उपसेनानी कृष्णचन्द्र पौडेलले बताउनुभयो । रासस