लक्ष्मीको कृपा भएन
-योगीशकृष्ण : तीस वर्षपछि देखियो । यस अवधिमा उल्लूमा आएको परिवर्तन देखेर म चकित परेँ ।टिलिक्क टल्केको सूट टाईमा सजिएको उल्लू आकर्षक उल्लू देखिन्थ्यो । उल्लूपूर्ण आँखा छोप्न उसले कालो चश्मा भिरेको थियो । सुकेको अनुहारमा रौनक थपिएको थियो । उसले मलाई चिनेर पनि नचिनेको झैँ गर्यो । म उसको बलेरो गाडी अघिल्तिर उभिएपछि ऊ लाचार भयो ।
तैपनि उसले मलाई चिनेको स्वीकार गरेन, भन्यो , “कता कता देखे जस्तो लाग्छ ।” बिलकुल त्यसै गरी जसरी चुनाव जितेको नेताले गाउँका कार्यकर्तालाई भेटेपछि भन्ने गर्छन् ।
मैले बुँझे मलाई परिचितको श्रेणीमा राखेर ऊ आफ्नो स्तर तल झार्न चाहन्न थियो । मैले तीसौँ वर्ष अघिको हाम्रो भेटघाटको स्मरण गराएँ । बल्ल बल्ल उसले सम्झिएको भान पार्यो ,“अच्छा , हो त नि, त्यही त कस्तो चिनेको जस्तो लागिराख्या अवस्था हो ।”
मैले बिन्ति गरेँ, “हे उल्लू, एक पटक लक्ष्मीजीलाई मेरो झोपडीमा ल्याइदेऊ ।”
ऊ चिन्तित मुद्रामा देखा पर्यो “कुनै समय थियो, म उल्लू थिएँ । आज मेरो हैसियत धेरै माथि उठिसकेके परिपस्थिति हो । तापनि वर्तमान परिस्थितिको वैज्ञानिक तवरले विश्लेषण गर्नुपर्दा मैले के भन्नु पर्छ भने मेरो खातिरदारी गर्ने धेरै छन् अहिले । उद्योगी, व्यापारी , थरिथरिका तस्कर,( उसले कानमा भन्यो –आजकल रक्तचन्दनको तस्करी जोडतोडले चलिरहेको छ । हतियारको कारोबार पनि फस्टाएको छ )।तिमीले तीस वर्ष अघि भनेका थियौ –यदि मेरो बुता चल्यो भने प्रत्येक विद्यालयमा उल्लूको पूजा अर्चना गराउने व्यवस्था गर्नेछु । तिम्रो त्यो भक्तिप्रति म साह्रै खुसी छु । म लक्ष्मीलाई तिमी कहाँ ल्याउने प्रयास गर्नेछु ।
ऊ त्यत्तिकै खुसी भयो, जसरी कुनै नेतालाई आजीवन तपाइँ यो देशको राष्ट्रपति हुनुहुन्छ भने पछि खुसी हुन्छन् । रागोँ, कुखुरा जे को पनि, मतलब मूल्य, मान्यता, दर्शन, नैतिकता, साथी भाइ , कार्यकर्ताको बलि दिन तयार हुन्छन् ।
मलाई उल्लूप्रति ईष्र्या लाग्यो । यो उल्लू हो , म मानिस । योसँग जे छ, त्यसको एकांश पनि मसँग छैन । आफैलाई सम्झाएँ–उल्लू भए पनि लक्ष्मीको उल्लू पो हो त ।
म दियो बालेर लक्ष्मीको प्रतीक्षामा बसेँ । बिहान मिर्मिरे बेलामा लक्ष्मीको आगमन भयो ।लक्ष्मी थकित देखिन्थिन् । आँखा खुम्चाएर उनले मतिर हेर्दै उल्लूलाई भनिन्” त्यसै उल्लू भनेको हो तँलाईँ । यस्ता यस्ता कहाँ मलाई ल्याएर ।म भोट माग्न हिँडेकी हु र ?”
लक्ष्मीको क्रोध साम्य पार्न मैले नै पहल गरेँ “प्रभो, हजुरलाई धेरै थकाइ लागे जस्तो छ ।”
”हो” उनले खुइय्य गरिन्“पहिले दरबार र उनका आसेपासे कहाँ गए पुग्थ्यो । अहिले कति ठाउँ जानु पर्छ । लाजिम्पाट, पेरिस डाँडा, पेप्सीकोला, सानेपा ।नयाँ बानेश्वरमै कति कति । महतो,त्रिपाठी,मार्गी, कुमार्गी,गुप्ता, सुमार्गी सबकहाँ जानु पर्यो ।”
मैले हात जोडेँ “तीस वर्षअघि हजुरको दर्शन जुरेको थियो । उल्लू साहेबको कृपाले ।हजुरको निगाह भए म गरीबको केही हुन्थ्यो कि ।”
लक्ष्मीले जबाफ दिइन्“हेर, यस तीस वर्षको अवस्थामा धेरै परिवर्तन भइसकेको अवस्था हो । मतलब जो छ कि वर्तमान परिप्रेक्ष्यमा माने तिम्रो अवस्थामा कुनै आमूल परिवर्तन देखिराख्या छैन ।”
मैले लक्ष्मीको भाषामा आएको परिवर्तन भने महसुस गरिरहेको थिएँ ,मानौ उनी चार ठूला दलकी प्रतिनिधि हुन् ।उनले सोधिन्“ यो तीस वर्षको अवधिमा तिमीले के के गरयौ? नेता वा नेताका चमचा वा दलाल केही हुन सक्यौ?”
”सकिन”म खिस्रिक्क परेँ“एक पटक भोट हाल्न पर्यो भनेर मतदान केन्द्र त गएको थिएँ, एउटा गुण्डा आएर मेरो मतपत्र खोसेर लग्यो ।
आखिर गुण्डा बदमासको बदमासीले जनप्रतिनिधि चुनिन्छन् भने त्यसपछि त मेरो केही काम नै रहेन ।”
उनको मूड अलि खराब देखियो “यस बीचमा जनतालाई मुक्ति दिलाउने भनेर बैंक लुटने, अर्काको कमाइ खाने, जबरजस्ती चन्दा माग्ने जस्ता सुकर्म गर्यौ ?”
“छैन ”
“ठीक छ । त्यसो भए अपहरण गरेर फिरौती कत्तिको कुम्लाउन सक्यौ ?”
“छैन हजुर ।”
“रक्त चन्दनको तस्करी सस्करीमा संलग्न भएका छौ ?वा तिनको दलाली गरेर तस्कर छुटाउने काम गरेका छौँ ?”
“छैन ।”
उनी मुसुक्क हाँसिन्“त्यसो भए मुलुकलाई अर्को मुलुकमा मर्ज गराउने अभियानम लागेका हुँदा हौँ ।”
“यस्तो राष्ट्रघाती कामको त म कल्पना पनि गर्न सक्दिन प्रभु ।”
भृकुटी खुम्च्याएर उल्लूतिर हेर्दै उनले मसँग सोधिन्“तिमी पागल हौ कि के हो ?”
“होइन प्रभु, साधारण नेपाली हुँ ।”
उनले उल्लूलाई हपारिन् “उल्लू कहिँको । यस्तै काम न काजको मान्छे कहाँ मलाई लिएर आउँछस् । आइन्दा यस्तो गरिस् भने तँमाथि कडा कारबाही हुन सक्छ । यहाँसम्म कि तेरो सफाया पनि हुन सक्छ ।”
उनले फोन गरेर हेलिकप्टर मगाइन् । उल्लूले मेरो कानमा भन्यो “उहाँको एक भक्तलाई हेलिकप्टर खूब मन पर्छ । उसैले उपलब्ध गराएको
हेलिकप्टर चढेर लक्ष्मीजी भक्तहरू”लाई भेटन जानुहुन्छ ।”
म तिर हेदै नहेरी लक्ष्मीजी हेलिप्याडतिर प्रस्थान गरिन् ।
यस वर्ष पनि लक्ष्मीको कृपा भएन।
(yogiskrishna81@gmail.com / editor@nepalekhabar.com)