आलेख समाचार : सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला

गोलभेडा खेती : म्याग्दीको पात्लेखेतमा टनेलमा गालेभेडा खेती गर्नुभएकी स्थानीय कृषक नरदेवी शेरपुञ्जा । गाउँमै महिला सहकारी स्थापना भएपछि यहाँका महिलाहरु उत्पादनशील क्षेत्रमा लागेका छन । तस्बिर : कमल खत्री

गोलभेडा खेती : म्याग्दीको पात्लेखेतमा टनेलमा गालेभेडा खेती गर्नुभएकी स्थानीय कृषक नरदेवी शेरपुञ्जा । गाउँमै महिला सहकारी स्थापना भएपछि यहाँका महिलाहरु उत्पादनशील क्षेत्रमा लागेका छन । तस्बिर : कमल खत्री

कमल खत्री / म्याग्दी । घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ ।

यतिमात्रै होइन, गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला आजभोलि परिवारको दैनिकी चलाउने खर्च आफैँ जुटाउन सफल देखिन्छन् । जिल्लाको म्याग्दीको पात्लेखेत–५ की अशु रोकाले सहकारीमार्फत ऋण लगेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन् ।

दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरेकी उनले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेँडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रोलगायतका तरकारीखेती विस्तार गरेकी छिन् र यसबाट उनी राम्रो आम्दानी गर्न सफल भएकी छिन् ।

रोकाले भनिन् – “दुई वर्ष अगाडि सहकारीबाट रु १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेकी थिएँ । गत वर्ष तरकारी बेचेर ऋण पनि तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्छु ।” विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित बनेका धेरै महिला अहिले आत्मनिर्भर उन्मुख बनेका छन् ।

सहकारीबाट ऋण लगेर स्थानीय महिलाले बाख्रापालन, कुखुरापालन, तरकारीखेती, सिलाइ कटाइ, मौरीपालनलगायतका क्षेत्रमा लाग्न थालेपछि उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको छ ।

गाउँमै सहकारी स्थापना भएपछि ऋण तथा बचतको कारोबारसँगै आर्थिक रुपमा बलियो बन्न सहयोग पुगेको स्थानीयवासी सीता आचार्यको भनाइ छ ।

हरेक वर्ष तरकारीखेतीलाई विस्तार गर्दै लगेकी आचार्यले आफूलाई आवश्यक परेमा ऋण लिन र आम्दानी भएको रकमलाई गाउँमै बचत गर्न पाएर खुसी लागेको बताइन् । गाउँमै सहकारी स्थापना भएपछि थोरै ऋण लिन र बचत गर्नकै लागि सदरमुकाम झर्नुपर्ने झन्झटबाट पात्लेखेतवासी अहिले मुक्त भएका छन् ।

सहकारीले उनीहरुको समय र पैसा दुवैको बचत र उचित उपयोग गर्न मद्दत पु¥याएको छ । महिलाको नेतृत्वमा स्थापना भएको सहकारीमा गाविसभरका सबै घरधुरी आबद्ध भएका छन् ।

सभा समारोहमा गएर आफ्नो कुरा राख्न नसक्ने महिला सहकारीको नेतृत्व गरी अगाडि बढेपछि नेतृत्व विकासमा समेत सहयोग पुगेको पात्लेखेतकी स्थानीय मञ्जु शाही रकालले आफ्नो अनुभव सुनाइन् ।

महिला तथा बालबालिका कार्यालयको सहयोगमा स्थापित र प्लान नेपालको सहयोगमा सहमति नेपालले सन् २०१२ देखि सञ्चालन गरेको महिला सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लामा अहिलेसम्म २७ गाविसमा महिला सहकारी स्थापना भएका छन् । ती सहकारीले अहिले गाविसभरका सबै घरधुरीलाई सहकारीमा आबद्ध गराउने अभियान चलाएका छन् ।

“समुदायका सबैको सहभागिता गराएर आफ्नो अपनत्वको भावनाको विकास गर्दै पछाडि परेका विपन्न समुदाय र वर्गको उत्थानका लागि शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गराउने अभियान चलाइएको हो,” सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीले भन्नुभयो – “अहिलेसम्म १२ गाविसलाई सहकारीयुक्त गाविस घोषणा गरिसकिएको छ ।”

ग्रामीण भेगमा खुलेका महिला सहकारीको प्रभावकारिता बढेको महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला शर्माको भनाइ छ । सहकारीले महिलाको क्षमता र नेतृत्व विकाससँगै राज्य तथा विभिन्न सङ्घसंस्थाका अभियानमा समेत सहभागिता जुटाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको उहाँले बताउनुभयो ।

चुलोचौकोमा सीमित महिलालाई बचत गरी आर्थिक रुपमा बलियो बन्न सहकारी लागिपरेको झिँ गाविसकी श्रीमायाँ शेरपुञ्जा बताउनुहुन्छ । आर्थिक रुपमा आत्मनिर्भर बनेपछि मात्रै समाजमा महिलाको स्थान उँचो हुने भावनाको विकास गर्न र फजुल खर्च कटौती गरी उत्पादनशील क्षेत्रमा लाग्न सहकारी मार्गदर्शन भएको देउराली महिला बचत तथा ऋण सहकारीकी अध्यक्षसमेत रहेकी शेरपुञ्जाको भनाइ छ ।

दुर्गम गाउँका महिलालाई घरबाहिर निस्किएर आफ्नो क्षमता विकास गर्दै उत्पादनशील क्षेत्रमा समय, श्रम र सञ्चित पुँजीलाई लगानी गर्न सहकारीले सिकाएको छ ।

बिना धितो ऋण दिने भएपछि गाउँका विपन्न परिवारका महिलालाई आर्थिक रुपमा सक्षम बन्न महिला सहकारीको भूमिका महत्वपूर्ण देखिन थालेको हो । “सानोतिनो व्यवसायबाट भएको थोरै–थोरै आम्दानीलाई बचत गरी बालबालिकाको पढाइ र घरखर्च जुटाउन सजिलो हुँदोरहेछ,” रघुगङ्गा महिला विकास बहुउद्देश्यीय सहकारी, पाखापानीका अध्यक्ष कुमारी पाइजाले भन्नुभयो – “आर्थिक रुपमा आत्मनिर्भर बन्दै महिला समाज विकासको नेतृत्व लिन सक्ने बनेका छन् ।”

समाजमा उच्च ओहोदाका व्यक्तिहरुकै घरपरिवारबाट महिलालाई सामाजिक क्षेत्रमा स्वतन्त्र रुपले अगाडि बढ्न नदिने विद्यमान समस्यालाई चिर्दै महिलाहरु सहकारी समूह र महिला सहकारीमार्फत एकजुट बनेर सामाजिक कार्यमा अग्रसर बन्नु प्रशंसनीय कार्य हो । सानोतिनो रकम आवश्यक परेमा पनि श्रीमान् र साहुलाई गुहार्नपर्ने बाध्यता सहकारी स्थापना भएसँगै हट्दै गएको सिद्ध महिला बचत तथा ऋण सहकारीका अध्यक्ष गीता रोकाले बताउनुभयो ।

जिल्लाको २७ गाविसमा हाल महिला सहकारी सञ्चालनमा छन् । प्लान र सहमतिले २७ गाविसमा रहेका सबै सहकारीको प्रवद्र्धन र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ती गाविसमा सञ्चालित महिला सहकारीमा हाल ५२४ वटा महिला स्वावलम्बी समूह आबद्ध छन् । आव २०७१÷७२ सम्म २७ वटा महिला सहकारीले रु पाँच करोड १६ लाख ४६ हजार ८८७ लगानी गरेकामा चालु आवको भदौसम्ममा लगानी बढेर रु ११ करोड ६७ लाख १९ हजार ३०६ पुगेको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक सुवेदीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter