उल्लु कस्तो थियो (व्यङ्ग्य)
-योगीशकृष्ण : बल्ल बल्ल उल्लू तयार भयो। मैले उसलाई भनेको थिएँ“कुनै दिन मेरो जोर चल्ने भयो भने तिम्रो मूर्ति प्रत्येक शैक्षिक संस्थानमा राख्न लगाउने छु । विद्यार्थीहरु तिम्रो मूर्ति अघिल्तिर उभिएर भन्ने छन् –हे उल्लू , कृपया मलाई जाँचमा पास गराइदेऊ । एक किलो लड्डू चढाउँला ।”आफ्नो मूर्ति क्याम्पस , स्कूलको हाताभित्र ठाडिएको कल्पना गरेर उल्लुले सोध्यो,“ त्यसो भए मेरो नाम लिएर कसैले कसैलाई गाली नगर्लान्, होइन त ?”
”के को गाली गर्थे नि” मैले सम्झाएँ“बरु प्रशंसा गर्छन् –यो त साक्षात् उल्लु जस्तो छ । आशीष दिन्छन्–उल्लु जस्तै भएस् ।”
उल्लु तयार भयो । मलाई पिठ्यूँम बोकेर हुँइकियो । केही बेरपछि हामी लक्ष्मीको दरबार पुग्यौँ । बिदा नलिकन हिँडेकाले होला लक्ष्मीले उल्लूलाई कठोरतापूर्वक हेरिन् । उल्लूले सकपकाएर बिन्ति गर्यो“ हजुर, यो मानिस साह्रै दुखी , सोझो हरिलठ्ठक र गरीब रहेछ । यो वर्ष यसलाई निगाह बक्से यसको कल्याण हुने थियो ।”
“तिमी किन म कहाँ आएको ?” लक्ष्मीले मलाई सोधिन्
“हामी हिन्दूहरु बर्सैपिच्छे लक्ष्मी आऊन् भनेर हजुको पूजा अर्चना गछौँ । म पनि गर्छु । तर, हजुरले कहिले बाटो बिराइबक्सेन ।यस पाला उल्लूसाहेबको कृपाले प्रभुको दर्शन गर्ने सौभाग्य पाएँ ।”
यति भनेर लक्ष्मीको गुनगान गरेर संस्कृतका केही श्लोक सुनाउन खोजेको ज्यान गए आएन । झण्डै मुखबाट सरस्वती मया दृष्टा निक्लेको । भाग्यले गर्दा निक्लेन ।
मैले साहेब भनेर सम्बोधन गरेको होला उल्लू डुक्रिएको देखेर लक्ष्मी मुस्कुराइन् । मेरो कालो ख्याउटे अनुहार हेरेर भृकुटि खुम्च्याइन् “ तिमी कहाँ बस्छौ ?”
मलाई आस लाग्यो–यो वर्ष भने पक्कै आउने भइन् ।
“काठमाण्डौमा बस्छु , प्रभु ।”
“काठमाण्डौमा घर छ तिम्रो?”
घर ? त्यो पनि काठमाण्डौमा ? मैले जबाफ दिएँ,“ छैन, डेरा गरी बसेको छु ।”
“बङ्गला भाडामा लिएर बसेका छौ त त्यसो भए ।”
मैले बिन्ति बिसाँए,“ त्यस्तो घरभित्र छिर्ने अवसर समेत जुरेको छैन।”
“विदेश गएका छौ? उताबाट के के ल्याएका छौँ ?”
बिराटनगर पारि जोगबनीसम्म त एक पटक पुगेको थिएँ,“हजुर, यता नेपालमा चिनी नपाउँदा आधा किलो चिनी ल्याएको थिएँ ।”
“युरोप, अमेरिका कतै गएको छैनौ ?”
व्यापार , व्यवसाय सबै सीमापारिको कब्जामा भइगयो । जानु पर्यो लाहुरतिर । केही नपाए बहादुरको दरबान गिरी त पक्कै पाइएला भनेर हिँडेको थिएँ । रक्सौलका मित्रहरुले झोलिझ्याम्टा बेपत्ता पारेपछि घर फर्किएँ । उता लुटिएको त भन्न भएन , लाज हुन्छ भनेर जन्मेको ठाउँ छाड्न भएन भनेर भने तापनि लक्ष्मीलाई त ढाँट्न भएन । सही कुरा बताइदिएँ ।
लक्ष्मी जिल्ल परिन्“ होइन, तिमी झिटी गुण्टा व्यापार गर्ने भनेर हङकङ ब्याङ्गकबाट सुन तस्करीमा लाग्यौ कि लागेनौ ? ”
मैले आफ्नो इमानको सगर्व वर्णन गरेँ ,“छैन”
“कहिले कुनै अपराधमा जेल गएका छौँ ?”
“छैन,” यस पालाको दशैँमा झण्डै परेको थिएँ । राति कामबाट फर्कदैँ गर्दा पुलिसले बाटोम सोधपुछ गरयो । रक्सी खाएको छ कि छैन भनेर मुख सुँघ्यो ।बाटो हिँडने जँड्याहाहरुलाई लिएर गयो । मलाई लगेन ।”
उनले सोधिन्“ कारपेट काण्ड , चरेश काण्ड ,काठ काण्डमा परेका छौ कि छैनौ ?”
म विश्वस्त थिएँ । यस वर्ष लक्ष्मीको कृपा हुन्छ भनेर । तर, त्यसो भएन । उल्लूतिर हेरेर उनी पडकिइन्“त्यसै तेरो नाम उल्लू राखेको हो । यस्तै उल्लू लठेब्रोको सिफारिश गरी हिँडदो छस् । तैँले मलाई के सम्झेको लक्ष्मी पो हुँ त ,लक्ष्मी । के ठानेर यस्तो दरिद्रे कहाँ जान्छु भनिठानिस् ?”
मैले उल्लूतिर हेरेँ । मेरो सामुन्ने उसको बेइज्जत भएकोले खिस्रिक्क परेको थियो । ऊ पनि मतिर हेर्दै थियो , मानौ मलाई भन्न खोजिरहेछ“के गर्नु मैले? कोसिस त गरिदिएकै हुँ । तँ नै नालायक देखिइस् ।”
“आज यत्रो लक्ष्मी पूजाको दिन । कता कता भ्याउनु छ । ”लक्ष्मी बडबडाइन् “यो उल्लू मोरो भने काम न काजको मान्छे बोकेर आउँछ । के यसको मुख हेरेर बसेको । हिँड जाऔँ । ”
भर्खर घिउ काण्डमा चर्चित व्यापारीको नाम लिँदै लक्ष्मीले उल्लूलाई त्यतै उड्न आदेश दिँदै पिठयुँमा बसिन् ।
(हालै प्रकाशित लक्ष्मीको कृपा भएन भन्ने व्यङ्ग्य दोश्रो भाग यो व्यङ्ग्य झण्डै तीस वर्षअघि गोरखापत्र प्रकाशित भएको थियो । साभार गोरखापत्र दैनीक । लेखको बारेमा कुनै प्रतिक्रिया भए editor@nepalekhabar.com वा yogiskrishna81@gmail.com मा पठाउनु होला । सम्पादक)