महानगरभित्रका नक्सा पास विद्युतीय प्रक्रियाबाट

kathmandu

 

रमेश लम्साल

काठमाडौँ, २० मङ्सिर । काठमाडौँ महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउँदै हुनुहुन्छ भने अब तपाईले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ ।

यसअघि हुँदै आएको परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन लागिएको छ । अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति दिनमा तपाइले स्वीकृति पाउनुहुन्छ, के कति कागजात आवश्यक पर्छ र के कति राजस्व तिर्नुपर्छ भन्ने पनि अनलाइनमार्फत नै जानकारी प्राप्त गर्न सकिने भएको छ ।

काठमाडौँ महानगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र संयुक्त अधिराज्य वेलायत विकास कोष ९यूकेएड०को संयुक्त प्रयासमा अनलाइन नक्सा पाससम्बन्धी प्रणालीको विकास गरिएको छ । काठमाडौँ महनागरमा कति घर तथा आवास बन्दै छन्, तिनीहरुको अवस्था कस्तो रहेको छ, कति घर, अवास तथा व्यावसायिक प्रयोजनका लागि निर्माण भएका भवनले कर तिरे वा तिरेनन् भन्ने कुराको सम्पूर्ण जानकारी पनि लिन सकिने भएको छ ।

नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउनका लागि सो प्रणाली सहयोगी हुने विश्वास लिइएको छ । सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण, डिजाइन गर्न, सम्बन्धित घरधनी तथा डिजाइनकर्तालाई नक्सा पासको चरण तथा अवस्थाको बारेमा नियमित जानकारी दिन, डिजाइन तथा डकर्मीको लगत राखी सो सम्बन्धी जानकारी गराउन अनलाइन प्रणाली असाध्यै सहयोगी हुने विश्वास लिइएको छ ।

यस्तै परम्परागत रुपबाट नक्सा पास गराउँदा अपारदर्शी आर्थिक कारोबार हुने गरेको भन्ने गुनासो आइरहेको सन्दर्भमा नयाँ प्रणालीले आर्थिक कारोबारलाई पारदर्शी, सरल र सहज बनाउन, नेपाल राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्ड पालना गर्न सो प्रणाली सार्थक हुने विश्वास लिइएको छ ।

महानगरगरले विगत दुई वर्षदेखि फाइल प्रोजेक्टको रुपमा अनलाइन प्रणालीमार्फत नक्सा पास गर्ने कामलाई अगाडि बढाएको थियो । सामान्य अवस्थामा नक्सा पास गर्ने कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न २१ दिन लाग्ने गरेको अवस्थामा नयाँ प्रणालीले अझ छोटो समयमा काम पूरा हुनेछ । महानगरले २०७० भदौ ५ गतेबाट अनलाइन प्रक्रियाबाट नक्सा पास गर्ने प्रक्रियालाई अगाडि बढाएको थियो । सो कार्यक्रम अनौपचारिकरुपमा सुरु भएको भएपनि आजबाट औपचारिकरुपमा अगाडि बढाइएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले विद्युतीय नक्सा पास प्रक्रियाको औपचारिक सुरुवात गर्नुभयो । हाल महानगरपालिकाका वडा नं १, ४, ६, ७, ९, १३, १४, १५, १६, २९, ३२, ३३, ३४ र ३५ मा विद्युतीय प्रणालीमार्फत नक्सा पास प्रक्रिया सुरु भइसकेको छ । महानगरका सबै वडामा सो प्रणाली आगामी असारभित्रै लागू गरिनेछ ।

उपप्रधानमन्त्री थापाले महानगरलाई वास्तवमै महानगर बनाउने सरकारको योजना पूरा गर्न र सहजरुपमा जनतालाई सेवा दिनका लागि नविनत्तम प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । विद्युतीय प्रक्रियाका बारेमा जानकारी नभएका जनतालाई पनि महानगरले सहजरुपमा सो सेवा दिनुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नु नपर्ने अवस्थाको सिर्जना गर्न उहाँले निर्देशन दिनुभयो ।

नयाँ प्रक्रिया सुरु हुनु सकारात्मक र महत्वपूर्ण कदम भएको उल्लेख गर्दै उहाँले झन्झटिलो, अव्यवहारिक तथा जटिल प्रक्रियालाई विद्युतीय प्रणालीले सहयोग गर्ने बताउनुभयो । महानगरसँग ३१ लाख ५० हजारभन्दा बढी नक्सा तथा मिसिल रहेकाले कुनै हराएमा, च्यातिएमा खोज्नसमेत झन्झट हुँदै आएको छ । भूकम्पपछि त महानगरको काम कारवाही अव्यवस्थित हुँदै आएको छ । त्यसमाथि हाल महानगर बसिरहेको राष्ट्रिय सभागृहबाट हट्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही मङ्सिर १६ गते निर्देशन दिएपछि अर्को समस्या थपिएको छ ।

महानगरको पूरानो भवन बागदरबार भूकम्पपछि सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको छ । महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ नयाँ विद्युतीय प्रणालीमा पूराना सबै नक्सा तथा मिसिललाई पनि समावेश गरिने र विद्यूतीयरुपमा राखिने विश्वास व्यक्त गर्नुहुन्छ ।

महानगरलाई कागज बिहीन बनाउने र स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अगाडि सारेको उल्लेख गर्दै उहाँले अब सेवाग्राहीले कर तिरे कि तिरेनन्, कति घर छन्, भन्ने विषयमा समेत सहजै जानकारी लिन सकिने बताउनुभयो । काठमाडौँ उपत्काका अरु नगरपालिका, ललितपुर उपमहानगरपालिकामा समेत विद्युतीय नक्सा प्रक्रिया सुरु गर्ने सरकारको तयारी छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका देशीय निर्देशक रिनाउड मेयर र डिएफआइडीका प्रमुख गेल माराजिटीले सुरक्षित आवास निर्माणका लागि विद्युतीय नक्सा पास प्रक्रियाले धेरै सजिलो पार्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter